
विराटनगर । सगरमाथा क्षेत्रको उच्च भेगमा हिमपात सुरु भएसँगै खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक, पदयात्री तथा पर्वतारोहणमा संलग्नलाई मौसमको अवस्था बुझेर यात्रा गर्न आग्रह गरेको छ ।
गाउँपालिकाका अनुसार थुक्ला, थोरक्सेप र गोक्यो आसपासका उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । उच्च क्षेत्रमा रहेका तथा जाने तयारीमा रहेका पर्यटक, पदयात्री, पर्वतारोही, गाइड र पोर्टरलाई उच्च सतर्कता अपनाउन गाउँपालिकाले अनुरोध गरेको हो ।
मौसममा देखिएको परिवर्तनलाई ध्यानमा राख्दै आफ्ना गतिविधि अगाडि बढाउन र जोखिमपूर्ण अवस्थामा अनावश्यक यात्रा नगर्न गाउँपालिकाले आग्रह गरेको छ ।
यसैबीच, कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा जारी छ । तर, हालसम्म वर्षाका कारण कुनै अप्रिय घटना नभएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनालले विभिन्न स्थानमा पानी परिरहेको भए पनि अहिलेसम्म भारी वर्षाका कारण जनजीवन प्रभावित हुने अवस्था नआएको बताए । सोलुखुम्बुको माथिल्लो भेगमा भने हल्का हिमपात सुरु भएको जानकारी उनले दिए ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशमा विपद् व्यवस्थापनको तयारी तीव्र पारिएको खनालले बताए । उनका अनुसार मौसम पूर्वानुमानले जोखिम बढ्न सक्ने संकेत गरेपछि प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्दैछ । विपद्को सम्भावित असर न्यूनीकरण गर्न आवश्यक तयारी र सुरक्षा सतर्कता अपनाइएको उनले बताए ।
पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरोधको सम्भावनालाई ध्यान दिँदै रातको समयमा सवारी आवागमनमा समेत कडाइ गरिएको प्रहरीले जनाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अधिकांश पहाडी जिल्लामा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको डीआईजी खनालले बताए । सम्भावित विपद्बाट सर्वसाधारणलाई सुरक्षित राख्न माइकिङ, जिंगल बजाउनेलगायत जनचेतनामूलक गतिविधि पनि सञ्चालन भइरहेको जानकारी उनले दिए ।
कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि मौसममा आएको परिवर्तनसँगै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले जल तथा मौसम विज्ञान विभागको बुलेटिनलाई आधार बनाउँदै असोज ९ देखि ११ गतेसम्म कोशी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ ।
मन्त्रालयका अनुसार सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम उच्च छ । त्यसैले नदी तथा खोला किनार र भिरालो जमिन आसपास बसोबास गर्ने तथा यात्रा गर्नेहरूले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।
मन्त्रालयले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र रातको समयमा यात्रा नगर्नसमेत अनुरोध गरेको छ । विपद्को अवस्था उत्पन्न भएमा तत्काल आवश्यक सूचना लिन वा सहयोग माग्न बाढी सूचना हटलाइन ११५५, विपद् मद्दत ११३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

























