काठमाडौंबाट बाहिरिने सवारीसाधन नागढुंगामा रोकिए

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ९, शुक्रबार ०९:२२

काठमाडौं । लगातार भइरहेको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन नागढुंगामा होल्ड गरिएको छ। बिहीबार साँझ ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन, मोटरसाइकललगायत सबै प्रकारका सवारीसाधन नागढुंगा क्षेत्रमा रोकिएका छन्।

वर्षाका कारण नागढुंगा–नौबिसे सडकखण्डमा पहिरो जाने, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुनसक्ने जोखिम रहेकाले सुरक्षा सतर्कताका रूपमा सवारीसाधन रोकिएको जनाइएको छ। नागढुंगा हुँदै धादिङ, चितवन, पोखरा, गोरखालगायत विभिन्न जिल्लातर्फ जाने लामो दूरीका बस तथा मालवाहक सवारीसाधनसमेत रोकिएपछि यात्रु र चालक प्रभावित भएका छन्।

सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो आउन सक्ने सम्भावना रहेकाले सडक र मौसमको अवस्था हेरेर मात्रै सवारीसाधन सञ्चालन गरिने बताइएको छ। अवस्था सामान्य भएपछि सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाइने तयारी गरिएको छ।

सम्भावित जोखिमलाई ध्यान दिँदै यात्रुलाई अनावश्यक यात्रा नगर्न र लामो दूरीको यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र प्रस्थान गर्न आग्रह गरिएको छ। वर्षाका कारण नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको चाप बढ्न सक्ने भएकाले यात्रुलाई धैर्य गर्नसमेत अनुरोध गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×