
काठमाडौं । देशका विभिन्न क्षेत्रमा भइरहेको निरन्तर वर्षासँगै मौसम प्रतिकूल बनेपछि हवाई उडान प्रभावित भएका छन्।
लगातारको वर्षा, आकाश धुम्म हुनु र विमानस्थल तथा आसपासका क्षेत्रमा भिजिबिलिटी कम हुँदा उडान तथा अवतरणमा समस्या भएको हो। खराब मौसमका कारण सुरक्षित रूपमा उडान सञ्चालन गर्न कठिन भएपछि केही गन्तव्यका उडान रोकिएका छन् भने केही प्रभावित भएका छन्।
उडान प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ। पोखरा, भरतपुर र तुम्लिङटारतर्फका उडान हुन नसक्दा ती गन्तव्य जाने यात्रु विमानस्थलमै रोकिएका छन्।
मौसममा तत्काल सुधार नआए उडान थप प्रभावित हुन सक्ने भएकाले यात्रुलाई सम्बन्धित वायुसेवासँग उडानको अवस्था बुझेर मात्र विमानस्थल आउन आग्रह गरिएको छ।
लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक यातायातसमेत प्रभावित भइरहेका बेला हवाई उडानमा समेत असर परेको हो।

























