देशभरका मुख्य राजमार्ग ठप्प

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ९, शुक्रबार १२:०३

काठमाडौं। विगत २४ घण्टादेखिको अविरल वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रलाई राजधानीसँग जोड्ने प्रमुख सडक सञ्जालहरू नराम्ररी प्रभावित भएका छन्। सडकका विभिन्न स्थानमा पहिरो खस्ने, सडक भासिने र लेदो जम्ने समस्याले यातायात सेवा अवरुद्ध बनेको छ।

सडक विभागका सहायक प्रवक्ता इन्जिनियर शुभाञ्जन दाहालका अनुसार देशको व्यस्त पृथ्वी राजमार्गका विभिन्न स्थानमा साना-ठूला पहिरो खसेका छन्। विशेषगरी कृष्णभीर क्षेत्रमा सडकको तल्लो भागको माटो झरेपछि सडक जोखिमपूर्ण बनेको छ। यसैगरी, मुग्लिन-नारायणगढ सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द छ।

Advertisement

सम्भावित क्षति न्यूनीकरण गर्न स्थानीय प्रशासनले कान्ति लोकमार्गमा शनिबार बिहान ५ बजेसम्मका लागि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ। बीपी राजमार्गमा पहिलेदेखि नै रात्रिकालीन यातायातमा रोक लगाइएकोमा हाल चौकीडाँडा लगायतका क्षेत्रमा सडक भासिँदा र अस्थायी डाइभर्सनमा क्षति पुग्दा आवागमन थप प्रभावित भएको छ।

उत्तरी सीमा जोड्ने कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का खण्डमा ठूलो पहिरोका कारण यातायात सेवा पूर्ण रूपमा ठप्प छ। प्राविधिक टोलीले पहिरो पन्छाउने प्रयास गरिरहेको दाहालले जानकारी दिए। कालीगण्डकी करिडोरको पाल्पा क्षेत्रमा भने खोलामा पानीको सतह बढेकाले यात्रा जोखिमपूर्ण बनेको छ।

विभागले अधिकांश राजमार्गहरूमा जुनसुकै बेला नयाँ पहिरो खस्ने जोखिम कायमै रहेको जनाएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा प्राविधिक र मेसिनहरू तैनाथ गरिए पनि मौसम प्रतिकूल रहेकाले अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न विभागले सर्वसाधारणमा अपिल गरेको छ। यात्रा गर्नै पर्ने अवस्थामा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र निस्कन विभागले आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×