पूर्वमा सक्रिय न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ९, शुक्रबार १६:१९

काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालका अधिकांश जिल्लामा झरी परिरहेको छ । लगातारको वर्षाका कारण खोला तथा नदीमा बहाव बढेको छ भने पहिरोका कारण विभिन्न स्थानमा राजमार्गसमेत अवरुद्ध भएका छन् ।

मौसमविद्का अनुसार न्यूनचापीय प्रणाली नेपालको पूर्वी भागबाट क्रमशः पश्चिमतिर सर्दै गएको छ। त्यससँगै पश्चिमी क्षेत्रमा वर्षाको मात्रा बढ्ने पूर्वानुमान गरिएको छ। शनिबार पूर्वी क्षेत्रमा पानी पर्ने मात्रा केही कम हुने सम्भावना रहेको र पश्चिमी भूभागमा आज रातिदेखि पानी पर्ने क्रम बढ्दै जाने अवस्था देखिएको मौसमविद् रोजन लामिछानेले बताएका छन् ।

Advertisement

लुम्बिनी र गण्डकी प्रदेशका जिल्लामा भने बुधबारदेखि नै वर्षा भइरहेको छ । अब वर्षाको प्रभाव सुदूरपश्चिमसम्मै बढ्ने मौसमविद्को पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको जोखिम नक्सामा बागमती प्रदेशदेखि पूर्वतर्फका जिल्लालाई पहेँलो तथा गण्डकीदेखि पश्चिमतर्फका उच्च पहाडी र हिमाली क्षेत्रलाई रातो संकेतमा राखिएको छ ।

पहेँलो संकेतले मौसमी अवस्थाबारे सतर्क रहन र नियमित अध्यावधिक हुन भनिएको छ भने रातो संकेतले बाढीपहिरोको जोखिम रहेकाले आवश्यक प्रतिकार्यका लागि तयार रहनुपर्ने जनाउँछ । निरन्तरको वर्षाका कारण बाढी पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम छ । शनिबार भने उच्च जोखिममा रहेका जिल्लाको संख्या थप बढ्ने पूर्वानुमान गरिएको छ ।

नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

आइतबारदेखि पनि सातै प्रदेश हुँदै बहने साना नदी तथा खोलामा आकस्मिक रूपमा बहाव बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ । यस्तै, सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा पर्सिसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×