पानीको बहाव बढेपछि अरुण तेस्रो आयोजनाको ड्याम निर्माण रोकियो

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ९, शुक्रबार २०:००

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामको काम रोकिएको छ।

अरुण नदीमा जलसतह बढेपछि निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।

Advertisement

आयोजनाको निर्माणाधीन क्षेत्रमा अरुण नदीको पानीको बहाव बढेपछि ड्राइभर्सनका लागि अस्थायी रूपमा निर्माण गरिएको टनेलबाट पानी पूर्ण रूपमा निकास हुन नसक्दा पानी अस्थायी ड्याममाथिबाट बगेको छ ।

निर्माणाधीन स्थायी ड्याममा पानी जान थालेपछि ड्यामको काम तत्कालका लागि रोकिएको प्रहरी निरीक्षक राजवंशीले बताए । उनका अनुसार हाल उक्त क्षेत्रमा अरुण नदीको पानीको बहाव ८१८.५० मिटर पुगेको छ ।

आयोजनास्थलमा नदीको पानीको बहाव ८१७ मिटरभन्दा माथि पुगेमा जोखिमपूर्ण हुने बताइएको छ । आयोजनास्थलको अवस्था तथा नदीको पानीको बहावको निरन्तर निगरानी गरिरहेको जनाइएको छ ।

पछिल्लो अवस्थाका कारण आयोजनाको ड्याम निर्माण कार्य प्रभावित भएको हो । निरन्तर नदी तथा खोलाको तटीय क्षेत्र र पहिरोको जोखिम भएका बस्तीमा पनि उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

वर्षाको गतिविधि बढ्दै जाने र जिल्लाका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले विशेष सावधानी आवश्यक रहेको स्थानीय प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×