
विराटनगर । मोरङ उद्योग व्यापार संघले उद्योग–व्यवसाय क्षेत्रका विद्यमान समस्या र तिनको समाधानका उपाय समेटिएको सुझाव पत्र प्रस्तुत गरेको छ । संघका अध्यक्ष अनिल साह नेतृत्वको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहलाई भेटेर सुझाव पत्र बुझाएका छन् ।
भेटघाटका क्रममा संघका अध्यक्ष साहले मुलुकको वर्तमान आर्थिक अवस्था, उद्यमी–व्यवसायीले भोग्नुपरेका व्यावहारिक जटिलता तथा समग्र अर्थतन्त्रको सुधारका लागि तत्काल चालिनुपर्ने कदमबारे समेटिएको सुझाव पत्र हस्तान्तर गर्दै मन्त्री साहसँग छलफल गरेका छन् ।
संघले उद्योगमन्त्री साहलाई बुझाएको सुझाव पत्रमा उद्योगी–व्यवसायीको उधारो असुलीका लागि द्रुत न्यायाधिकरणको गठन गर्नुपर्ने, खाद्यान्न तथा कच्चा पदार्थ आयातमा लगाइएको प्रतिबन्ध फुकुवा हुनुपर्ने र अत्यधिक बैंकिङ बिदा कटौती गरिनुपर्ने, सार्वजनिक खरिद ऐनमा लचकता अपनाउनुपर्ने तथा राजस्व न्यायाधिकरणले पूर्ण निष्पक्षता कायम गर्नुपर्ने, भारततर्फ हुने निर्यातमा भारतीय गुणस्तर लाइसेन्स प्राप्तिमा देखिएका कठिनाइ हटाउन कूटनीतिक पहल हुनुपर्ने, विराटनगर एकीकृत जाँच चौकीको सेवा शुल्क न्यूनतम बनाउनुपर्ने, मोरङ–सुनसरी करिडोरमा विशेष आर्थिक क्षेत्र स्थापना गरिनुपर्ने र विराटनगर रिङ रोड निर्माण कार्य तत्काल सम्पन्न गर्नुपर्ने आग्रह गरिएको छ ।
त्यस्तै, सीमावर्ती बजारबाट हुने अर्बौंको कारोबार र चोरी पैठारी नियन्त्रण गर्न भन्सार महसुल दर परिमार्जन गर्नुपर्ने, बहुदरको मूल्य अभिवृद्धि कर लागू गरिनुपर्ने, स्वदेशी उद्योगको संरक्षण र प्रवर्द्धनका लागि कच्चा पदार्थ आयातमा १ देखि ५ प्रतिशत मात्र भन्सार महसुल कायम गरिनुपर्ने, मूल्य अभिवृद्धिका आधारमा ५ देखि ८ प्रतिशतसम्म निर्यात अनुदान दिनुपर्ने र निर्यातकर्ता कर्पोरेटलाई २५ प्रतिशत आयकर छुटको व्यवस्था पुनः कायम गरिनुपर्ने, एक नागरिक, एक प्यान नीति लागू गर्नुपर्ने, कृषि सामग्री एवं दैनिक उपभोग्य वस्तुमा भ्याट र अन्तःशुल्क खारेज गरिनुपर्ने तथा गैरकानुनी मानिएको कार्गो भेइकल फी खारेज गर्नुपर्ने सुझाव पत्रमा उल्लेख गरिएको छ ।
सुझाव पत्र बुझ्दै मन्त्री साहले संघले उठाएका विषयहरू अत्यन्त वस्तुनिष्ठ, व्यवहारिक र समय सामयिक रहेको बताए । उनले मोरङ–सुनसरी औद्योगिक कोरिडोरको पुनरुत्थान गर्न र निजी क्षेत्रको मनोबल उच्च बनाउन प्रस्तुत सुझावहरूलाई मन्त्रालयको तर्फबाट प्राथमिकताका साथ सम्बोधन गर्ने प्रस्ट पारे ।
भेटघाट कार्यक्रममा संघका निवर्तमान अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल सारडा, वाणिज्य उपाध्यक्ष विकासकुमार बेगवानी, उद्योग उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ, महासचिव अमित कुमार सारडालगायतका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।



















