राप्रपा अध्यक्ष लिङ्देनविरुद्ध सात सांसदले हाले गाली बेइज्जतीको मुद्दा

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार २०:३९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध बागमती प्रदेशका सात सांसदले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेका छन्।

सांसदहरूले पार्टीको सार्वजनिक कार्यक्रममा अध्यक्ष लिङ्देनले आफूहरूमाथि अपमानजनक तथा चरित्रहत्या हुने किसिमको अभिव्यक्ति दिएको दाबी गर्दै मुलुकी अपराध संहिताअनुसार कारबाही, क्षतिपूर्ति र मुद्दाको खर्च भराउन माग गरेका छन्।

Advertisement

मुद्दा दायर गर्नेमा राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, मन्त्रीहरू गिरबहादुर तामाङ, राजेन्द्र प्रजापती र राजु विष्ट तथा सांसदहरू मोनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङ छन्। उनीहरूले वारेसमार्फत फिरादपत्र दर्ता गराएका हुन्।

फिरादपत्रमा उल्लेख भएअनुसार बागमती प्रदेशमा सरकार गठनका क्रममा राप्रपाका १२ सांसदमध्ये बहुमत सांसदको निर्णयअनुसार नेकपा (एमाले) नेतृत्वको सरकारलाई समर्थन गरिएको थियो। सोही निर्णयअनुसार तीन जना सांसद सरकारमा मन्त्री बनेका थिए।

त्यस निर्णयप्रति अध्यक्ष लिङ्देनले पूर्वाग्रह राखी सार्वजनिक रूपमा अपमानजनक अभिव्यक्ति दिएको सांसदहरूको दाबी छ। उनीहरूले काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा लिङ्देनले सांसदहरू ‘भेडाबाख्रा जस्तो बिकेको’ लगायतका अभिव्यक्ति दिएको आरोप लगाएका छन्।

विशेषगरी महिला सांसद मोनिका श्रेष्ठले आफूलाई लक्षित गरी आपत्तिजनक शब्द प्रयोग गरेर सामाजिक तथा सांस्कृतिक मर्यादाविपरीत अभिव्यक्ति दिइएको फिरादपत्रमा उल्लेख गरेकी छन्। सांसदहरूले मुलुकी अपराध संहिता, २०७४ को दफा ३०५ र ३०६ विपरीत कार्य भएको दाबी गर्दै दफा ३०७ बमोजिम कारबाहीको माग गरेका छन्। संहिताअनुसार बेइज्जती कसुरमा दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। आमसञ्चार माध्यमबाट बेइज्जती गरेमा थप सजायको व्यवस्था छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×