
काठमाडौं । आगामी साता देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि गएको साताजस्तो ठूलो वर्षा हुने अवस्था नरहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
पोखरेलका अनुसार आइतबारदेखि करिब चार–पाँच दिनसम्म हल्का वर्षाको सम्भावना रहे पनि वर्षा देशभर एकैपटक र हरेक दिन हुने छैन। पूर्वी नेपालदेखि काठमाडौंसम्म वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी देखिए पनि पश्चिमी क्षेत्रमा भने सम्भावना कम रहेको उनले बताएका छन्।
उनले आगामी साताको वर्षाको पूर्वानुमानलाई लिएर अनावश्यक रूपमा त्रसित नहुन पनि आग्रह गरेका छन्। ‘फेरि पनि स्पष्ट पारौँ- यो पूर्वानुमान तर्साउनका लागि राखिएको होइन। अर्को हप्ताको वर्षा गएको हप्ताजस्तो ठूलो हुने देखिँदैन,’ पोखरेलले भनेका छन्।
उनका अनुसार वर्षाको सम्भावना स्थान र दिनअनुसार फरक हुने भएकाले सबै ठाउँमा एकै प्रकारको मौसम रहने छैन। त्यसैले आफ्नो जिल्ला र सम्बन्धित दिनको पूर्वानुमान हेरेर मात्र योजना बनाउन उनले सुझाव दिएका छन्।
विशेषगरी किसानले धान काट्ने काम नै रोक्नुपर्ने अवस्था नरहेको पोखरेलले बताएका छन्। मौसमको अवस्था बुझेर कुन दिन कामका लागि अनुकूल हुन सक्छ भन्ने जानकारी लिन सहज होस् भन्ने उद्देश्यले मात्र वर्षाको पूर्वानुमान सार्वजनिक गरिएको उनको भनाइ छ।
पोखरेलले सार्वजनिक गरेको पूर्वानुमान चारवटा मौसमसम्बन्धी मोडेलको औसतमा आधारित छ। यो आगामी छ दिनको दैनिक वर्षाको सम्भावनासम्बन्धी पूर्वानुमान हो।
उनका अनुसार नक्सामा तीन मिलिमिटरभन्दा कम वर्षा देखाइएको स्थानमा खासै पानी नपर्न सक्छ। चार मिलिमिटर वा त्यसभन्दा बढी देखिएको स्थानमा भने वर्षाको सम्भावना रहेको बुझ्न सकिन्छ।
उनले वर्षाको अवस्था बुझ्दा समग्र देशको पूर्वानुमानभन्दा आफ्नो जिल्ला र सम्बन्धित दिनको नक्सा हेर्न सुझाव दिएका छन्। यसबाट किसान तथा सर्वसाधारणले दैनिक काम र यात्राको योजना बनाउन सहज हुने उनको भनाइ छ।

























