
पथरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला कोटातर्फ केन्द्रीय सदस्यमा सुविन पराजुलीले उम्मेदवारी दिने तयारी गरेका छन् ।
मोरङ क्षेत्र नम्बर ३ बाट ३५ वर्षमुनिका युवा खुलातर्फ सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका पराजुलीले पार्टीको केन्द्रीय नेतृत्वमा युवा प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्यसहित उम्मेदवारी दिने भएका हुन् । उनले महाधिवेशन प्रतिनिधिको निर्वाचनमा ५०६ मत प्राप्त गरेका थिए ।
पथरीशनिश्चरे नगरपालिका–१ निवासी पराजुलीको राजनीतिक यात्रा सानै उमेरदेखि सुरु भएको हो । १७ वर्षको उमेरमै तत्कालीन कांग्रेसका तीन गुटका नेताहरू रामशरण महत, अमृत अर्याल, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे र डिगबहादुर घिमिरेलाई एउटै मञ्चमा उभ्याएर उनले आफ्नो राजनीतिक सक्रियता देखाएका थिए ।
२० वर्षको उमेरमा पथरीशनिश्चरे नगर सदस्य बनेका पराजुली २५ वर्षको उमेरमै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै आएका उनी अहिले केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।
नेपाली कांग्रेसका केन्द्रीय नेतादेखि स्थानीय तहका युवा कार्यकर्तामाझ परिचित पराजुलीले नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यका रूपमा समेत काम गरिसकेका छन् । विद्यार्थी संगठनको विस्तार र पार्टीको प्रचारप्रसार विभागमा रहेर काम गरेको अनुभव उनीसँग छ । उनी जीपी फाउन्डेसन मोरङका अध्यक्षसमेत हुन् ।
पार्टीका नेता तथा कार्यकर्तासँग निरन्तर सम्पर्कमा रहेर सुखदुःखमा साथ दिँदै आएका पराजुलीले आगामी महाधिवेशनमा युवाको आवाज र सहभागितालाई केन्द्रीय तहसम्म पुर्याउने उद्देश्यसहित उम्मेदवारीको तयारी गरेको बताएका छन् । युवा पुस्ताको प्रतिनिधित्व गर्दै कोशी प्रदेशबाट केन्द्रीय नेतृत्वमा पुग्ने लक्ष्य पराजुलीले राखेका हुन् ।

























