
काठमाडौं । नेपाली लोकरक ब्यान्ड नेपथ्यले दुबईमा कन्सर्ट गरेको छ । दुबईस्थित इन्टरनेट सिटीको ‘दी एजेन्डा’ हलमा आयोजित कन्सर्टमा नेपाली दर्शकको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।
कन्सर्टमा नेपथ्यका मुख्य गायक अमृत गुरुङले ‘कोशीको पानी’बाट प्रस्तुति सुरु गरेका थिए । उनले ‘रातो र चन्द्रसुर्जे’ गीतबाट प्रस्तुति टुंग्याएका थिए। सुरुदेखि अन्त्यसम्म दर्शकले गीतमा साथ दिएका थिए ।
कन्सर्टमा दुबईसँगै आबुधाबी, सारजहाँ र रस अल खइमाबाट समेत नेपाली दर्शक पुगेका थिए । विभिन्न पेसा र पृष्ठभूमिका नेपाली सहभागीले नेपथ्यका चर्चित गीतमा मनोरञ्जन लिएका थिए ।
कन्सर्टअघि स्थानीय आयोजकले नेपथ्यका गीत आफ्नै स्वरमा रेकर्ड गरेर पठाउने प्रतिस्पर्धा पनि सञ्चालन गरेका थिए । पाकिस्तानको लाहोरबाट दुबई आएका आतिफ असलमले ‘रातो र चन्द्रसुर्जे’ गीत गाएर प्रतिस्पर्धामा सहभागी भई पुरस्कार पाएका थिए ।
उनले उक्त गीत टिकटकमा समेत राखेका छन् । आयोजकका अनुसार उनको भिडियो करिब ३५ हजार पटक हेरिएको छ। पुरस्कारस्वरूप उनले कन्सर्ट हेर्नुका साथै अमृत गुरुङसँग व्यक्तिगत भेट गर्ने अवसरसमेत पाएका थिए ।
कन्सर्टमा गुरुङले विदेशमा काम गरिरहेका नेपालीको अवस्था र मातृभूमिप्रतिको जिम्मेवारीबारे पनि धारणा राखेका थिए । उनले मरुभूमिको देशमा श्रम गर्न पुगेका नेपालीको बाध्यता उल्लेख गर्दै मातृभूमिलाई आवश्यक पर्दा सहयोग गर्न आग्रह गरेका थि ए।
आयोजक इजी ग्रुपका श्री लामिछानेले कार्यक्रमको प्रस्तुति, प्राविधिक व्यवस्थापन र दर्शक सहभागिताका हिसाबले कन्सर्ट सफल भएको बताए । ‘दी एजेन्डा’ हलका प्रोडक्सन विभाग प्रमुख साहबाज ओमरले पनि नेपथ्यको प्रस्तुतिले कार्यक्रमको सिजन राम्रो सुरुवात भएको बताए ।
कन्सर्टमा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए ।
दुबई कन्सर्टपछि नेपथ्यले असोज २४ गते शनिबार काठमाडौंको कीर्तिपुरस्थित ल्याब स्कुलको मैदानमा प्रस्तुति दिने तयारी गरेको छ । त्यसपछि भारतको सिक्किमसहित नेपालका छ सहरमा कन्सर्ट गर्ने तालिका सार्वजनिक गरिएको छ । ब्यान्डले यही वर्ष अस्ट्रेलियामा समेत कन्सर्ट गर्ने प्रारम्भिक जानकारी दिएको छ ।

























