अमृताको स्वरमा आयो ‘झिलीमिली देउसी भैलो’

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १६, सोमबार १८:४१

काठमाडौं । अमेरिकामा बस्दै आएकी नेपाली लोकगायिका अमृता लुङ्गेली मगरको स्वरमा तिहार विशेष गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक भएको छ । दीपावलीको पूर्वसन्ध्यामा सार्वजनिक गीतमा तिहारको सांस्कृतिक परम्परा, देउसीभैलो र दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई समेटिएको छ ।

गीतमा राजु परियार, घमेश दुलाल, सरोज बिरही कार्की, सीता थापा, राधिका हमाल र अमृता लुङ्गेली मगरको स्वर रहेको छ । गीतका शब्द, संगीत तथा एरेञ्ज सरोज बिरही कार्कीले गरेका हुन् ।

खगेन्द्र गिरीको निर्देशनमा तयार भएको गीतको भिडियोमा पीएन सापकोटा, सम्झना लामिछाने मगर र अमिस उपरकोटीले अभिनय गरेका छन् । केशव विश्वकर्माले छायांकन गरेको भिडियो कल्पेश विश्वकर्माले सम्पादन गरेका हुन् । गीत गायिका अमृता लुङ्गेली मगरको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

करिब दुई दशकदेखि नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय लुङ्गेली मगरका ‘साली भेना’, ‘देउसी भैलो’, ‘बाच्छी कहाँ हरायो’, ‘जो धेरै नाच्छ उ धेरै बाँच्छ’, ‘सरर प्लेनमा आए’ र ‘के होला शुभ नाम’ लगायत गीत सार्वजनिक छन् । सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानका लागि उनले विभिन्न अवार्ड तथा सम्मानसमेत प्राप्त गरेकी छन् ।

गायिकाका रूपमा ‘एक्स्ट्राअर्डिनरी भिसा’ प्राप्त गरेकी लुङ्गेली मगर हाल परिवारसहित अमेरिकामा बस्दै आएकी छन् । विदेशमा रहेर पनि उनी नेपाली गीतसंगीतमा सक्रिय छिन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.