
काठमाडौं । नेपाली हास्यव्यङ्ग्य साहित्यको प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले विद्यालय तहका विद्यार्थीहरूबीच आयोजित ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार २०८३’ को नतिजा सार्वजनिक भएको छ । प्रतियोगितामा इलामका सेवन्त आचार्य प्रथम भएका छन् भने काठमाडौंका सुविज्ञराज खरेल द्वितीय भएका छन्।
प्रतियोगितामा अमर माध्यमिक विद्यालय इलाममा कक्षा १२ मा अध्ययनरत सेवन्त आचार्य प्रथम भएका हुन्। त्यसैगरी, डियरवाक सिफल स्कुल काठमाडौंमा कक्षा १० मा अध्ययनरत सुविज्ञराज खरेल द्वितीय भएका छन् । श्री कान्ति भैरव गुरुकुल काठमाडौंमा कक्षा १२ मा अध्ययनरत पुष्प खरेल र काभ्रे इंग्लिस माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत स्वीकृति तामाङ तृतीय भएका छन् ।
प्रथम हुने आचार्यले २० हजार रुपैयाँ, द्वितीय हुने खरेलले १० हजार रुपैयाँ तथा तृतीय हुने पुष्प र स्वीकृतिले जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विजेताहरूलाई काठमाडौंमा आयोजना हुने विशेष समारोहमा ‘बांगा अक्षर’का तर्फबाट सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिने जनाइएको छ।
क्यानडा निवासी हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीले नेपाली हास्यव्यङ्ग्य साहित्यको विकास र विद्यार्थीमा सिर्जनात्मक लेखनको रुचि अभिवृद्धि गर्ने उद्देश्यले २०८२ सालमा यो पुरस्कार स्थापना गरेका हुन् । ‘बांगा अक्षर’ले विश्वभरका कक्षा १२ सम्म अध्ययनरत नेपाली भाषी विद्यार्थीबाट गत असोज १४ गते (३० सेप्टेम्बर २०२६) सम्म निबन्ध आह्वान गरेको थियो।
प्राप्त निबन्धहरूको मूल्यांकनका लागि हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, कवि तथा साहित्यकार डा. ऋषि बस्ताकोटी र हास्यव्यङ्ग्यकार सुमी लोहनी सम्मिलित तीन सदस्यीय विशेषज्ञ टोली गठन गरिएको थियो। मूल्यांकनका क्रममा हास्य र व्यङ्ग्यको प्रभावकारिता, विषयवस्तु र सान्दर्भिकता, मौलिकता, सिर्जनशील प्रस्तुति, भाषा तथा शैली र निबन्धको संरचना एवं तादात्म्यलाई मुख्य आधार बनाइएको आयोजकले जनाएको छ।
संस्थाका अध्यक्ष नारायण भट्टराईले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई धन्यवाद दिँदै सिर्जनात्मक लेखनमा निरन्तर लागिरहन आग्रह गरेका छन्।



















