
विराटनगर । आरोहण गुरुकुलको प्रस्तुति नाटक ‘अन्तिम गीत’ काठमाडौंमा प्रदर्शनपछि विराटनगरमा मञ्चन हुने भएको छ । आरोहण गुरुकुलका निर्देशक सुनिल पोखरेलका अनुसार नाटक असोज २८ र २९ गते विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा मञ्चन हुनेछ ।
काठमाडौंमा नेपाल–रुस रंग सप्ताहका अवसरमा कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा मञ्चन गरिएको ‘अन्तिम गीत’ अब विराटनगरका दर्शकमाझ प्रस्तुत हुन लागेको हो । विराटनगरमा हुने दुईदिने मञ्चनले दर्शकलाई कलाकारको जीवन र रंगमञ्चसँगको सम्बन्धबारे सोच्ने अवसर दिने अपेक्षा गरिएको छ ।
रुसी साहित्यकार अन्तोन चेखभको चर्चित नाटकलाई महेश पौड्यालले नेपाली रूपान्तरण गरेका हुन् । शैली थिएटरका नवराज बुढाथोकीले निर्देशन गरेको नाटकमा वरिष्ठ अभिनेता सुनिल पोखरेल र सब्बु गुरुङको मुख्य भूमिका छ ।

नाटकले मञ्चमा कलाकारको प्रस्तुति सकिएपछि बाँकी रहने संसार र कलाकारको जीवनमा रहेको एक्लोपनलाई कथाको केन्द्रमा राखेको छ । नाटक सकिएपछि बत्ती निभ्छन्, दर्शक घर फर्किन्छन् तर कलाकारको जीवनमा त्यसपछि के बाँकी रहन्छ भन्ने प्रश्नबाट नाटक अघि बढ्छ ।
नाटकको कथा ६८ वर्षीय वृद्ध हास्यकलाकार भसिलि स्भियतलोभिडोभको वरिपरि घुम्छ । ४५ वर्ष रंगमञ्चमा बिताएका भसिलि नाटक सकिएपछि ड्रेसिङ रुममै निदाउँछन् । ब्युँझिँदा नाटकघर सुनसान, अँध्यारो र चिसो भइसकेको हुन्छ ।
त्यही साँझ दर्शकले उनको अभिनयको प्रशंसा गर्दै १६ पटकसम्म ‘वान्स मोर’ गरेका हुन्छन् । तर नाटकघरबाट घर फर्कने बेला उनलाई साथ दिने कोही हुँदैन । त्यसपछि उनले त्यही सुनसान हलमा आफ्नो विगत, वर्तमान र लामो रंगमञ्चीय यात्रालाई सम्झन थाल्छन् ।
भसिलि सम्भ्रान्त परिवारका सदस्य हुनुका साथै सेनामा समेत काम गरिसकेका व्यक्ति हुन् । सुखद भविष्य र जागिरको बाटो छाडेर उनले रंगमञ्च रोजेका हुन्छन् । तर कलाकारका रूपमा उनले समाजबाट पाएको व्यवहारले उनलाई निराश बनाएको हुन्छ ।
प्रेम गरेकी युवतीसँग विवाहको प्रस्ताव राख्दा उनले नाट्यकर्म छाड्नुपर्ने सर्त पाउँछन् । दर्शकका लागि मनोरञ्जन दिने कलाकारलाई मञ्चमा ताली बजाउने समाजले परिवारको सदस्यका रूपमा स्वीकार गर्न नचाहने अवस्थालाई पनि नाटकले उठाएको छ ।

नाटकमा सब्बु गुरुङले निकिताको भूमिका निभाएकी छन् । बस्ने घर नभएकी निकिता राति ड्रेसिङ रुममा ओत लाग्न आउँछिन् । सुनसान नाटकघरमा भसिलि र निकिताबीच हुने संवादमार्फत कलाकारको जीवन, एक्लोपन र समाजसँगको सम्बन्धका विभिन्न पाटा खुल्दै जान्छन् ।
भसिलिको भूमिकामा पोखरेलले वृद्ध कलाकारको निराशा, आवेग, मादकता र आन्तरिक पीडालाई प्रस्तुत गरेका छन् । नाटकमा दृश्य परिवर्तन हुँदैन । लामो समयसम्म मञ्चमा रहने भसिलिले आफ्नै विगत सम्झिँदै शेक्सपियरका ‘किङ लियर’, ‘ह्यामलेट’, ‘ओथेलो’ तथा पुश्किनका संवादसमेत प्रस्तुत गर्छन् ।
नाटकमा भसिलिको चरित्रमार्फत कलाकारको जीवनमा सफलता र लोकप्रियतापछि पनि बाँकी रहने एक्लोपनलाई देखाइएको छ । लामो समय रंगमञ्चमा बिताएका पोखरेलको अभिनयले पात्रको भोगाइलाई मञ्चमा प्रस्तुत गर्न सहयोग गरेको निर्देशक बुढाथोकीको संयोजनबाट देखिन्छ ।
पोखरेल र भसिलिको जीवनमा केही समानता पनि छन् । दुवैले लामो समय रंगमञ्चमा बिताएका छन् र दुवै रंगकर्मसँगै प्रशिक्षण तथा शिक्षणमा समेत जोडिएका छन् । यद्यपि यी संयोग मात्रै रहेको पोखरेलले बताएका छन् ।
नाटकले मञ्चमा कलाकारले पाउने ताली र प्रशंसाभन्दा बाहिर उसको व्यक्तिगत जीवनमा रहेको संघर्ष र एक्लोपनलाई केन्द्रमा राखेको छ ।



















