विराटनगरमा संयुक्त बजार अनुगमन : २९ वटा फर्मलाई जरिबाना

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार १३:२०

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा विराटनगर महानगरपालिका तथा आसपासका बजार क्षेत्रमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा विभिन्न फर्महरु कारबाहीमा परेका छन् ।

असोज ९ गतेयता ७४ वटा फर्मको अनुगमन गरिएकोमा विभिन्न कसुरमा २९ वटा फर्मलाई ६ लाख ९२ हजार रुपैयाँ जरिबाना गरिएको हो । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी उपभोक्ताको गुनासो सम्बोधन, कालोबजारी नियन्त्रण, उपभोक्ता हित संरक्षण, उपभोग्य वस्तुको गुणस्तर तथा मूल्य नियन्त्रण, नापतौलको शुद्धता र व्यावसायिक पारदर्शिता कायम गर्ने उद्देश्यले संयुक्त बजार अनुगमन गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पनवराज कोइरालाले बताए ।

उनका अनुसार अनुगमनका क्रममा खाद्यान्न, औषधि, होटल तथा रेस्टुरेन्ट, कपडा, जुत्ता–चप्पल, माछा–मासु, दुग्धजन्य पदार्थलगायतका व्यवसायको निरीक्षण गरिएको थियो । त्यस क्रममा क्रममा तीनवटा औषधि पसलमा सिलबन्दी गरिएको छ भने पाँचवटा फर्मलाई सम्बन्धित नियमनकारी निकायमा उपस्थित हुन निर्देशन दिइएको कोइरालाले बताए ।

कर तथा लेखा मापदण्ड पालना नगरेका, बिल तथा बिजक जारी नगरेका, खरिद–बिक्री खाता दुरुस्त नराखेका तथा करसम्बन्धी मापदण्ड पालना नगरेका १९ वटा फर्मलाई एक लाख ९२ हजार रुपैयाँ जरिबाना गरिएको छ । त्यसैगरी उपभोक्ता संरक्षण ऐनविपरीत लेबल नगरिएका, पुनःप्याकेजिङ गरिएका तथा म्याद गुज्रिएका सामग्री बिक्री गरेको भन्दै आठवटा फर्मलाई ७५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।

कारबाहीमा परेका फर्ममा जयराज ट्रेडर्स, ताण्डव रेस्ट्रो, किरण ट्रेडर्स, ए टु जेट सप्लायर्स, न्यु जय माँ काली होटल, गुरुदेव स्वीट, करिया मिट सप र शान्ती किराना लगायत रहेका छन् । अनुगमनका क्रममा विराटनगर–९ स्थित जयराज ट्रेडर्सको गोदाममा बिल–बिजकबिनै भण्डारण गरिएको ५४० किलोग्राम सुपारीसमेत फेला परेको थियो । उक्त सुपारी जिल्ला प्रहरी कार्यालय मोरङमार्फत बरामद गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको कोइरालाले बताए ।

मापदण्ड पूरा नगरेको तथा नवीकरण नगरिएको पाइएपछि विराटनगरका इमान फार्मेसी, खुश फार्मेसी र सुरेश फार्मेसीमा सिलबन्दी गरिएको छ । बजार अनुगमनका क्रममा भिसाको दुरुपयोग गरेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई समेत नियन्त्रणमा लिएर अध्यागमन विभाग काठमाडौं पठाइएको छ ।

विराटनगर–९ स्थित योनो ट्रेड सप्लायर्सका सञ्चालक चिनियाँ नागरिक सिए जिङ्सियान र विराटनगर–२ स्थित एभरपिकका सञ्चालक चिनियाँ नागरिक लु जुजियाङले प्राप्त भिसाविपरीत कार्य गरेको पाइएपछि प्रहरीमार्फत नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाइएको जानकारी कोइरालाले दिए । जिल्ला प्रशासन कार्यालयले बजारमा हुने गैरकानुनी गतिविधि नियन्त्रण, उपभोक्ताको अधिकार संरक्षण तथा चाडपर्वका बेला हुन सक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

यी हुन् अनुगमन गरिएका फर्महरु

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×