भोजपुरमा प्राङ्गारिक मल खरिदमा ७५ प्रतिशत अनुदान

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ६, आइतबार ०९:५६

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक तथा जैविक खेती प्रवर्द्धनका लागि किसानलाई मल खरिदमा ७५ प्रतिशत अनुदान दिने भएको छ । रासायनिक मलको प्रयोग घटाउँदै माटोको उर्वराशक्ति जोगाउने र दिगो खेती प्रणाली विकास गर्ने उद्देश्यले गाउँपालिकाले अनुदान कार्यक्रम ल्याएको हो ।

गाउँपालिकाको कृषि विकास शाखामार्फत आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअन्तर्गत अनुदान उपलब्ध गराउन लागिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । उनका अनुसार प्राङ्गारिक खेती गर्दै आएका किसानलाई प्रोत्साहन गर्नुका साथै नयाँ किसानलाई पनि यसतर्फ आकर्षित गर्ने लक्ष्य राखिएको छ ।

‘किसानलाई प्राङ्गारिक तथा जैविक खेतीतर्फ आकर्षित गर्दै स्थानीयस्तरमा यसको विस्तार गर्ने उद्देश्यले कार्यक्रम ल्याएका हौँ,’ अध्यक्ष बस्नेतले भने, ‘अनुदानले व्यावसायिक रूपमा प्राङ्गारिक खेती गर्दै आएका किसानलाई थप प्रोत्साहन गर्ने र नयाँ किसानलाई पनि यसतर्फ आकर्षित गर्ने अपेक्षा गरेका छौँ ।’

कार्यक्रमबाट व्यावसायिक रूपमा प्राङ्गारिक खेती गर्दै आएका तथा खेती विस्तार गर्न चाहने किसान, कृषि फार्म, समूह र सहकारी लाभान्वित हुने गाउँपालिकाको अपेक्षा छ । अनुदानमा मल खरिद गर्न किसानले प्रतिकेजी १० रुपैयाँ ५० पैसाका दरले रकम जम्मा गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताए ।

उनका अनुसार किसानले स्थानीयस्तरमा सूचीकृत मल उत्पादक फार्म, समूह, सहकारी वा कम्पनीबाट मात्रै मल खरिद गर्नुपर्नेछ । अनुदान कार्यक्रमलाई व्यवस्थित र पारदर्शी बनाउँदै लक्षित किसानसम्म पुर्‍याउन यस्तो व्यवस्था गरिएको उनले बताए । कार्यक्रममा सहभागी हुन इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले मलको प्रकार र आवश्यक परिमाण खुलाएर गाउँपालिकामा निवेदन दिनुपर्नेछ ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले रासायनिक मलको प्रयोग घटाउँदै माटोको उर्वराशक्ति संरक्षण र वातावरणमैत्री कृषि प्रणाली विकास गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको बताइन् ।

‘कृषिलाई उत्पादन र आयआर्जनसँग जोड्न खेती गर्ने तरिकामा पनि सुधार आवश्यक छ,’ उनले भनिन्, ‘प्राङ्गारिक मलको प्रयोग बढाएर कृषि उत्पादनलाई गुणस्तरीय बनाउनुका साथै वातावरणमैत्री खेती प्रणाली विकास गर्ने हाम्रो लक्ष्य हो ।’

गाउँपालिकाले कृषि क्षेत्रको विकास र किसानलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्राङ्गारिक तथा जैविक खेतीको विस्तारले माटोको उर्वराशक्ति संरक्षणसँगै स्थानीय कृषि उत्पादनको पहिचान र प्रवर्द्धनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.