बालविवाह घटे पनि विपन्न परिवारका बालिका अझै उच्च जोखिममा

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज २२, बिहीबार १६:४०

काठमाडौं । नेपालमा बालविवाहको दर पछिल्लो एक दशकमा घटे पनि विपन्न र सीमान्तकृत समुदायका बालिका अझै उच्च जोखिममा रहेको युनिसेफको नयाँ प्रतिवेदनले देखाएको छ । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा युनिसेफले ‘नेपालमा बालविवाह अन्त्यका लागि एक दशकको तथ्यांक र एक आह्वान’ शीर्षकको पैरवी प्रतिवेदन सार्वजनिक गरेको हो । यस वर्षको अन्तर्राष्ट्रिय बालिका दिवसको नारा ‘बालविवाह अन्त्य गरौं, बालिकाको अधिकारमा लगानी गरौं’ रहेको छ ।

नेपाल बहुसूचक सर्वेक्षण २०१४, २०१९ र २०२४–२५ का तथ्यांकको विश्लेषणमा आधारित प्रतिवेदनले नेपालमा बालविवाह घटाउने दिशामा पछिल्लो एक दशकमा उल्लेखनीय प्रगति भएको देखाएको छ । प्रतिवेदनअनुसार २० देखि २४ वर्ष उमेर समूहका महिलामध्ये १८ वर्ष नपुग्दै विवाह गर्नेको अनुपात २०१४ मा ३७ प्रतिशत रहेकामा २०२४–२५ मा घटेर २८ प्रतिशतमा पुगेको छ । त्यस्तै, १५ वर्षअघि हुने बालविवाहको दर पनि १० प्रतिशतबाट घटेर ५ प्रतिशतमा झरेको छ ।

बालिकाको पहिलो विवाह गर्ने औसत उमेरसमेत बढेको छ । सन् २००१ मा १७ वर्ष रहेको औसत उमेर २०२४–२५ मा १९ दशमलव ६ वर्ष पुगेको प्रतिवेदनमा उल्लेख छ । विद्यालयमा बालिकाको सहभागिता बढ्नु र कम उमेरमा हुने विवाह घट्दै जानु सकारात्मक प्रगतिको संकेत रहेको युनिसेफले जनाएको छ ।

तर यो प्रगति सबै समुदाय र आर्थिक समूहमा समान रूपमा देखिएको छैन । गरिबी अझै पनि बालविवाहको प्रमुख कारण बनेको प्रतिवेदनले औंल्याएको छ । सबैभन्दा विपन्न परिवारका बालिकामा धनी परिवारका बालिकाको तुलनामा १८ वर्षअघि विवाह हुने सम्भावना ४ दशमलव ४ गुणा बढी छ । पछिल्ला वर्षमा विपन्न परिवारमा बालविवाहको दरमा खासै सुधार नदेखिएको तर धनी परिवारमा उल्लेखनीय सुधार भएको प्रतिवेदनमा उल्लेख छ ।

युनिसेफका अनुसार बाढी तथा अन्य जलवायुजन्य विपद्ले पनि बालविवाहको जोखिम बढाउन सक्छ । यस्ता विपद्का कारण बालिकाको पढाइमा अवरोध हुनुका साथै परिवारको आयआर्जनमा असर पर्ने र जोखिममा रहेका परिवार थप आर्थिक संकटमा पर्ने भएकाले बालविवाह तथा बालबालिकामाथि हुने हिंसाको जोखिम बढ्न सक्ने प्रतिवेदनले जनाएको छ ।

नेपालका लागि युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गाले बालविवाह घटाउन नेपालले उल्लेखनीय प्रगति गरे पनि त्यो पर्याप्त नभएको बताइन् । उनले विशेषगरी विपन्न र सीमान्तकृत समुदायका बालिकालाई बालविवाहबाट जोगाउन थप लक्षित प्रयास आवश्यक रहेको बताइन् । प्रतिवेदनले बालविवाह रोक्न शिक्षाको भूमिका महत्वपूर्ण रहेको देखाएको छ । माध्यमिक शिक्षा पूरा गर्ने बालिकामा १८ वर्षअघि विवाह हुने जोखिम कम हुने भए पनि बालविवाहको जोखिममा रहेका बालिकाहरू नै गरिबी र अन्य समस्याका कारण विद्यालय छोड्ने सम्भावनामा बढी रहने प्रतिवेदनमा उल्लेख छ ।

युनिसेफ नेपालका लागि किशोरी सशक्तीकरणकी युवा अभियन्ता स्वर्णिमा कँडेलले प्रत्येक बालिकाले पढाइ जारी राख्ने, आफ्नो सपना पूरा गर्ने र भविष्यबारे आफैं निर्णय गर्ने अवसर पाउनुपर्ने बताइन् । कम उमेरमा विवाह हुँदा किशोरीहरूले शिक्षा, सीप विकास र भविष्य निर्माणका महत्वपूर्ण अवसर गुमाउन सक्ने उनको भनाइ छ ।

बालविवाह अन्त्यका लागि अति विपन्न परिवारका बालिकालाई प्राथमिकतामा राखेर सहयोग गर्न, किशोरावस्थासम्म बालिकालाई विद्यालयमा टिकाइराख्न, बाल संरक्षण प्रणाली बलियो बनाउन तथा बालविवाहलाई बढावा दिने सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउने कार्यक्रमलाई प्राथमिकता दिन प्रतिवेदनले सुझाव दिएको छ ।

दिगो विकास लक्ष्य ५।३ अनुसार सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य पूरा गर्न अब चार वर्ष मात्र बाँकी छ । त्यसैले सरकार, विकास साझेदार, नागरिक समाज, समुदाय, युवा, किशोरकिशोरी र बालबालिकासहित सबै पक्ष मिलेर काम गर्न युनिसेफले आह्वान गरेको छ ।

तपाइको प्रतिक्रिया
भीमफेदी दुर्घटना: ४८ घण्टामा चालकले चलाए गाडी ३३ घण्टा, शारीरिक थकान र बढी यात्रु प्रमुख कारण
कर्णाली रंगशाला कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई हस्तान्तरण
कोशीमा सुरक्षित यात्रा अभियान सुरु, इमानदार चालक सम्मानित
झापाको चारआलीमा पेट्रोलियम भण्डारण केन्द्रको शिलान्यास
रश्मिकुमारी घिसिङको दोहोरो ह्याट्रिक, एपीएफको ७–० को सानदार जित
भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री शाह
‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल’ (पूर्णपाठसहित)
‘भारत-नेपाल सम्बन्ध नयाँ उचाइमा’ (पूर्णपाठसहित)
आपत्कालीन सूचना दिन सरकारले परीक्षण गर्दै सेल ब्रोडकास्ट प्रणाली
सेवाग्राहीविहीन यातायात कार्यालयमाथि प्रदेशसभाको नजर, प्रभावकारिता अध्ययन गरिने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.