कन्याममा घोडचढी व्यवसायले बढायो रोजगारी

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ७, सोमबार १२:५२

इलाम । सूर्योदय नगरपालिका–७ कन्यामका किसान सोमबहादुर तामाङको दैनिकी बिहान घोडाको स्याहारसुसारबाट सुरु हुन्छ । बिहान उठ्नेबित्तिकै घोडालाई दानापानी खुवाउने, सरसफाइ गर्ने र पर्यटक सेवाका लागि तयार पार्ने उनको नियमित काम हो । त्यसपछि घोडा लिएर कन्याम बजार पुग्छन् र दिनभर पर्यटकलाई घोडामा चढाएर कन्याम तथा आसपासका क्षेत्र घुमाउँछन् । दिनभरको कमाइ लिएर साँझ घर फर्कन्छन् ।

परम्परागत खेतीपाती गर्दै आएका तामाङका लागि घोडचढी व्यवसाय पछिल्लो समय आम्दानीको मुख्य स्रोत बनेको छ । यसबाट उनले दैनिक औसत तीन हजार रुपैयाँसम्म कमाइ गर्दै आएका छन् । “बिहानदेखि साँझसम्म घोडाको स्याहारसुसार गर्ने र पर्यटकलाई घोडामा चढाएर घुमाउने नै दैनिकी बनेको छ,” उनले भने, “दिनभरमा सरदर तीन हजार रुपैयाँसम्म कमाइ हुन्छ । घोडालाई दानापानी खुवाउन दैनिक एक हजार रुपैयाँ खर्च हुन्छ । बाँकी बचत हुन्छ ।”

पर्यटकलाई प्याकेजमा घुमाउने अवसर पाउँदा भने पाँच हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । खेतीपातीसँगै पर्यटन व्यवसायमा जोडिन पाउँदा थप सन्तुष्टि मिलेको उनको भनाइ छ ।

सोमबहादुरको जस्तै दैनिकी अहिले कन्यामका ३९ किसानको छ । घोडापालन गर्दै आएका उनीहरू बिहानदेखि बेलुकासम्म पर्यटकलाई घोडचढी सेवा दिन व्यस्त हुन्छन् । पछिल्लो समय कन्याममा घोडचढी व्यवसाय फस्टाउँदै गएको छ । यहाँ आउने पर्यटक घोडचढीको अनुभव नलिई फर्कन चाहँदैनन् । चियाबारीको ट्रेलमा घोडा चढ्ने, फोटो तथा भिडियो खिच्ने र टिकटक बनाउने पर्यटक बढेसँगै व्यवसायीको आम्दानी पनि बढेको छ ।

घोडचढी व्यवसायलाई व्यवस्थित बनाउन मूल्य निर्धारण र व्यवसायीलाई सङ्गठित गर्ने उद्देश्यले घोडचढी व्यवसायी सङ्घ गठन गरिएको छ । सङ्घले दूरीअनुसार विभिन्न प्याकेजको शुल्क निर्धारण गरेको कोषाध्यक्ष डिकबहादुर तामाङले बताए । उनका अनुसार घोडामा चढेर फोटो खिचेको ५० रुपैयाँ, १० मिनेट घुमेको १०० रुपैयाँ, स्पोर्ट राउन्डको ३०० रुपैयाँ र हरियाली चिया बगान घुमेको ६०० रुपैयाँ शुल्क तोकिएको छ । कन्यामका सबै क्षेत्र घुम्ने प्याकेजका लागि भने दुई हजार ५०० देखि पाँच हजार रुपैयाँसम्म लिने गरिएको छ ।

“सङ्घको निर्णयअनुसार ५० देखि पाँच हजार रुपैयाँसम्मका विभिन्न प्याकेज बनाएका छौँ,” उनले भने, “व्यवसाय गरेबापत नगरपालिकालाई वार्षिक एक हजार ४७० रुपैयाँ र सरसफाइ शुल्कबापत मासिक ८० रुपैयाँ तिर्दै आएका छौँ ।”

सङ्घका अध्यक्ष तथा सूर्योदय नगरपालिका–७ का व्यवसायी प्रेमलाल ग्याबाका अनुसार घोडचढी व्यवसाय स्थानीयको जीविकोपार्जनको मुख्य आधार बन्दै गएको छ । कन्याम आउने पर्यटकलाई घोडामा घुमाएर आम्दानी गर्न सहज भएको उनले बताए । “पर्यटकलाई घोडामा चढाएर उनीहरूले चाहेको ठाउँमा घुमाउँछौँ । खेतीपातीको तुलनामा यो काम सहज छ,” उनले भने, “आम्दानीसँगै नयाँनयाँ पर्यटकसँग भेटघाट गर्न पाउँदा पनि आनन्द लाग्छ ।”

कन्याममा बालबालिका, युवा र वृद्धवृद्धासम्मले घोडचढीको अनुभव लिने गरेका छन् । सूर्योदय नगरपालिका–७ मा रहेको कन्याम कोसी प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक हो । यतिबेला यहाँ पर्यटक आउने मुख्य सिजन सुरु भएको छ । सामान्यतया असोजदेखि जेठसम्म कन्याममा पर्यटकको चहलपहल रहने स्थानीय पर्यटन व्यवसायी टिका ओडारीले बताए ।

चारैतिर हरियाली चियाबारीले सजिएको कन्याममा वनभोज, घुमफिर, फोटो तथा भिडियो खिच्न र घोडचढीको अनुभव लिन दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.