
विराटनगर । कोशी प्रदेशमा भएको लगानी सम्मेलनमा व्यक्त प्रतिबद्धताले मूर्त रूप लिन थालेका छन् । सम्मेलनमा भएको समझदारीअनुसार सुनसरीको दुहबी नगरपालिकामा ५६ करोड रुपैयाँ लागतको फोहोरमैला व्यवस्थापन परियोजना सञ्चालन हुने भएको छ ।
परियोजना निर्माण तथा सञ्चालनका लागि रिभाइभ इन्फ्रा टेक एन्ड इन्भेस्टमेन्ट लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको सम्झौताअनुसार दुहबीमा निर्माण हुने परियोजनाले सुनसरी र मोरङका विभिन्न पालिकाको फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रदेश सरकारले २०८१ वैशाख १८ र १९ गते आयोजना गरेको लगानी सम्मेलनमा ५१ वटा परियोजनाका लागि एक खर्ब ५६ अर्ब रुपैयाँ बराबरको लगानीसम्बन्धी समझदारी भएको थियो । तीमध्ये निजी क्षेत्रबाट सञ्चालन हुने केही परियोजना सुरु भइसकेका छन् भने सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलका परियोजना पनि कार्यान्वयनको चरणमा पुगेका छन् ।
लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाका अनुसार हालसम्म पाँचवटा परियोजनाको परियोजना विकास सम्झौता (पीडीए) भइसकेको छ । थप १२ वटा परियोजना सम्झौताको चरणमा छन् ।
यसैक्रममा कोशी प्रदेश सरकार र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच पनि पूर्वाधारसम्बन्धी परियोजना अघि बढाउन समझदारी भएको छ । यसबाट प्रदेशमा सार्वजनिक–निजी साझेदारीमा सञ्चालन हुने पूर्वाधार परियोजनाका लागि बैंकले लगानी तथा वित्तीय सहजीकरण गर्नेछ । प्रदेशको पूर्वाधार विकासलाई समृद्धिको आधार बनाउने उद्देश्यले सरकारले बैंकसँग सहकार्य अघि बढाएको हो ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री कार्कीले नीतिगत तथा कानुनी सुधारमार्फत प्रदेशमा लगानीमैत्री वातावरण बनाउन सरकार लागिरहेको बताए । जलविद्युत्, कृषि र पर्यटनमा कोशी प्रदेशले ठूलो सम्भावना बोकेको उल्लेख गर्दै उनले लगानी सम्मेलनका प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने बताए ।
“लगानी सम्मेलनमा भएका प्रतिबद्धतालाई व्यवहारमा उतार्दै नीतिगत र कानुनी सुधारमार्फत प्रदेशको समृद्धिको यात्रा अगाडि बढाउँछौँ,” उनले भने । अहिलेको परिस्थितिमा स्टन्टमा रमाउने र विभिन्न विषय उठाएर अलमलिने प्रवृत्तिभन्दा माथि उठेर यथार्थमा आधारित भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष महेशप्रसाद दाहालले कोशी प्रदेशको पूर्वाधार विकासमा साझेदार बन्न बैंक तयार रहेको बताए । उनले बैंकले काम गर्ने क्षेत्र र अधिकारबारे पनि जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्योग सञ्चालनका लागि जग्गा प्राप्ति कठिन बन्दै गएको विषय उठाए । ल्यान्ड पुलिङमार्फत जग्गा व्यवस्थापन गर्नसमेत सहज अवस्था नरहेको भन्दै उनले उद्योग स्थापनाका लागि सरकारले सहज रूपमा जग्गा उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा दुहबी नगरपालिका र बूढीगंगा गाउँपालिकाका अध्यक्षहरूले पनि आ–आफ्ना धारणा राखेका थिए ।

























