
विराटनगर । मोरङको बेलबारीमा दुई बसको बीचमा च्यापिएर सोमबार बिहान एक बसका सहचालकको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–२ स्थित शिक्षा सन्देश इङ्लिस स्कुलको गेटमा बिहान करिब ९ बजे दुर्घटना भएको हो । स्कुलको को १ ख ५२७९ नम्बरको बस स्टार्ट गर्न डोरी लगाउने क्रममा को १ ज १२६९ नम्बरको बस अचानक पछाडि सर्दा दुई बसको बीचमा च्यापिएर ५२७९ नम्बरको बसका सहचालक ४५ वर्षीय देवी खतिवडा घाइते भएका थिए ।
बेलबारी नगरपालिका–४ निवासी खतिवडालाई उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले दुवै सवारीसाधन र १२६९ नम्बरको बसका चालक केराबारी गाउँपालिका–९ निवासी २५ वर्षीय सरोज ढकाल तथा ५२७९ नम्बरको बसका चालक बेलबारी नगरपालिका–४ निवासी ४० वर्षीय नवराज खत्रीलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर घटनाबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

























