
उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक वृद्धको मृत्यु भएको छ ।
त्रियुगा नगरपालिका–१२ पुरानो गाईघाटस्थित ज्योतिनगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मंगलबार साँझ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
चौधरीको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।

























