
काठमाडौं । नेपालमा पहिलोपटक आयोजित दृष्टिविहीन व्यक्तिहरूको सेतो छडी वाकाथन प्रतियोगितामा पुरुषतर्फ दिपेश थापा र महिलातर्फ जिमावती लामकोलिया प्रथम भएका छन् ।
६३औँ अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवसका अवसरमा काठमाडौंमा आयोजित प्रतियोगितामा १० महिला र १० पुरुष गरी २० जना दृष्टिविहीन सहभागी भएका थिए । ‘सेतो छडी, स्वतन्त्रताको आधार, सुरक्षित यात्रा सबैको अधिकार’ भन्ने नारासहित भृकुटीमण्डपबाट सुरु भएको वाकाथन सहिदगेट हुँदै शान्तिबाटिकामा पुगेर सम्पन्न भएको थियो ।
प्रतियोगिताको पुरुषतर्फ सन्दीप थापा दोस्रो र मदन रोकाया तेस्रो भए । महिलातर्फ उमा चौधरी दोस्रो र सरिता केसी तेस्रो भए । विजेताले क्रमशः १० हजार, ७ हजार ५०० र पाँच हजार रुपैयाँ नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्राप्त गरे। दुवै विधामा गरी ४५ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।
नेपाल नेत्रहीन सङ्घसहित सात संस्थाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको समापन समारोहमा प्रतिनिधिसभा सदस्य रमेश प्रसाईंले दृष्टिविहीन व्यक्तिका लागि सुरक्षित र पहुँचयुक्त वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको बताए । नेपाल नेत्रहीन सङ्घका अध्यक्ष शिशिर खनालले सेतो छडी दृष्टिविहीन व्यक्तिको स्वतन्त्र आवागमन, आत्मविश्वास र सुरक्षित यात्राको महत्त्वपूर्ण माध्यम भएको बताए ।

























