
विराटनगर । १४ औँ राष्ट्रिय पौडी प्रतियोगिता (एनएसए कप) मा कोशी प्रदेशका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ५ स्वर्ण, ३ रजत र २ कांस्यसहित कुल १० पदक जितेका छन् । ललितपुरको सातदोबाटोस्थित हिट स्विमिङ पुलमा सम्पन्न प्रतियोगितामा कोशीका खेलाडीले विभिन्न विधामा पदक जित्दै राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गरेका हुन् ।
प्रतियोगितामा कोशीका सिशोभुवन राईले सर्वाधिक सफलता हासिल गर्दै चार स्वर्ण र एक रजत पदक जितेका छन् । उनले ५० मिटर, १०० मिटर र २०० मिटर बटरफ्लाई तथा ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेका हुन् । उनले ४०० मिटर व्यक्तिगत मेड्ले (आईएम) मा रजत पदकसमेत हात पारेका छन् ।
त्यसैगरी, कोशीका अर्का खेलाडी आरोन भण्डारीले एक स्वर्ण, दुई रजत र एक कांस्य पदक जितेका छन् । उनले २०० मिटर व्यक्तिगत मेड्ले (आईएम) मा स्वर्ण पदक जित्दा १०० मिटर आईएम र २०० मिटर फ्रिस्टाइलमा रजत तथा १०० मिटर ब्रेस्टस्ट्रोकमा कांस्य पदक प्राप्त गरेका छन् ।
यस्तै, आयुषा पौडेलले ब्याकस्ट्रोक विधामा कांस्य पदक जित्दै कोशी प्रदेशको पदक सङ्ख्यामा योगदान पुर्याएकी छन् । प्रतियोगितामा कोशीका खेलाडीहरूले गरेको प्रदर्शनले प्रदेशमा पौडी खेलको सम्भावना र खेलाडीहरूको प्रतिस्पर्धात्मक क्षमता उजागर गरेको राष्ट्रिय पौडी प्रशिक्षक इन्द्रजीत राजभण्डारीले बताए ।



















