
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका छन् । उनले बाध्यताले विदेशिनुपर्ने अवस्था अन्त्य गर्दै नागरिकको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बडादसैँका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले देशलाई समृद्धि र सुशासनको बाटोमा अघि बढाउँदै आमनागरिकको जीवन सुखद बनाउने दिशामा सरकार अघि बढिरहेको बताएका हुन् ।
उनले दसैँ पारिवारिक मिलन, आत्मीयता र खुसीको पर्व भए पनि पछिल्लो समय गाउँघरका घरआँगन रित्तिँदै गएको तथा लाखौँ नेपालीले चाडपर्वमा समेत परिवारसँग भेटघाट गर्न नपाएको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।
“हरेक दिन बाध्यताले विदेशिनुपर्ने दाजुभाइ तथा दिदीबहिनीहरूको पीडा र चाडपर्वका अवसरमा पारिवारिक मिलनका लागि घर फर्कने चाहना हुँदाहुँदै पनि फर्कन नपाई परदेशमा रित्तो निधार लिएर बस्न बाध्य हुनुपर्ने लाखौँ नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको नियति बदल्न हामी सबैको हातेमालोबाट सम्भव छ भन्नेमा दृढ विश्वास व्यक्त गर्दछु,” उनले सन्देशमा भनेका छन् ।
प्रधानमन्त्री शाहले आर्थिक सम्पन्नताको बाटोमा अघि बढ्दै देशलाई सुशासनको मार्गमा हिँडाउन सरकार अहोरात्र खटिरहेको उल्लेख गरेका छन् । आर्थिक कारणले दसैँको खुसीबाट कोही वञ्चित हुन नपरोस् भन्नेमा सरकार सचेत रहेको उनको भनाइ छ ।
उनले दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा व्याख्या गर्दै प्रत्येक व्यक्तिले आफूभित्रका नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्नुपर्ने बताएका छन् ।
काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता मानव दुःखका प्रमुख कारणमाथि विजय प्राप्त गर्न सके व्यक्तिगत जीवनसँगै समाजमा पनि सकारात्मक परिवर्तन सम्भव हुने उनले उल्लेख गरेका छन् ।
यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएको विनाशको शोक ताजै रहेका बेला दसैँ आएको स्मरण गर्दै प्रधानमन्त्री शाहले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । विपद्बाट विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको जानकारीसमेत उनले दिएका छन् ।
दसैँले नेपाली समाजमा एकता, आत्मीयता र सद्भाव बढाओस् भन्ने कामना गर्दै प्रधानमन्त्री शाहले देशभित्र र विदेशमा रहेका सम्पूर्ण नेपालीलाई आरोग्य, सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन् । उनले माता दुर्गाभवानीले सबैको रक्षा गरून् भन्दै सभ्य र भव्य रूपमा दसैँ मनाउन पनि आग्रह गरेका छन् ।

























