
काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई समाचार प्रकाशित गरेको विषयमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले प्रेस स्वतन्त्रतामाथि प्रहार भएको ठहर गर्दै श्रेष्ठलाई बिनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले साइबर ब्युरोमा दिएको उजुरीका आधारमा प्रहरीले शनिबार श्रेष्ठलाई ललितपुरको नख्खुस्थित निवासबाट पक्राउ गरेको हो।
जनआस्था साप्ताहिकमा पन्तमाथि धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको आरोपसम्बन्धी समाचार प्रकाशित भएको थियो। सोही समाचारलाई लिएर परेको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको जनाइएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा समाचारमा चित्त नबुझेका विषयमा प्रचलित कानुनी प्रक्रिया र स्थापित विधिअनुसार समाधान खोज्नुपर्नेमा साइबर ब्युरोमार्फत पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधानको मर्मविपरीत भएको उल्लेख छ।
महासंघले यस घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यताको उपहास गरेको जनाएको छ। प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्यसत्ताको आडमा स्वेच्छाचारी शैली अपनाइएको भन्दै महासंघले खेद व्यक्त गरेको छ।
महासंघले समाचारसम्बन्धी विवादको समाधान सम्बन्धित निकाय र स्थापित प्रक्रियामार्फत खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। साथै, आफ्नो क्षेत्राधिकारभित्र पर्ने विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ।
यसैबीच, साइबर ब्युरोमा रहेका पत्रकार श्रेष्ठले समाचार लेखेकै कारण आफूलाई पक्राउ गरिएको बताएका छन् । उनले ‘समाचार लेखेकै कारणले पक्राउ गरियो, पेसागत धर्म छोडिन्न’ भन्दै पत्रकारिताप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।


























