
झापा । झापाको अर्जुनधारामा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट प्रहरीले १ लाख २२ हजार ६८० रुपैयाँ नगद र दुई बुङ तास बरामद गरेको छ ।
प्रहरीका अनुसार शुक्रबार राति ११ बजे अर्जुनधारा नगरपालिका–५ ओमचोकस्थित सिताराम थापाको घरको दोस्रो तलामा तास खेलिरहेको सूचना प्राप्त भएको थियो ।
सूचनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक मनिष लुइँटेलको कमान्डमा खटिएको टोलीले घरमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले घटनास्थलबाट एक बुङ खोलिएको र अर्को बुङ नखोलिएको गरी दुई बुङ ताससमेत बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका निवासी ५५ वर्षीय सिताराम थापा, ४१ वर्षीय किशोर थापा, ४२ वर्षीय एक चौहान, ४५ वर्षीय निरजकुमार खनाल, ३८ वर्षीय बलबहादुर बुढाथोकी र ३४ वर्षीय रोहित अधिकारी छन् ।
उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।

























