
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय विपत्तिका कारण समस्यामा रहेका परिवारलाई सहयोग गर्दै विजयादशमी मनाउन सबैमा आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले यस वर्षको दसैँ संवेदनशील परिस्थितिमा मनाउनुपरेको बताएका छन् ।
थापाले धेरै परिवार अहिले पीडा र कठिनाइमा रहेकाले चाडपर्वको खुसी सीमित नराखी अरूसँग पनि बाँड्नुपर्नेमा जोड दिएका छन् । विपत्तिमा परेका परिवारको पीडामा मलम लगाउन र अप्ठ्यारोमा परेकाहरूको सहारा बन्नुपर्ने उनको भनाइ छ ।
विजयादशमीले आफूभित्रका कमजोरीमाथि विजय प्राप्त गर्ने आत्मबल, अरूको दुःख बुझ्ने संवेदना र समाजमा आपसी सद्भाव बढाउने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।

























