
काठमाडौं । बडादसैँको मुख्य दिन विजयादशमीका अवसरमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभसाइतमा टीका, जमरा र प्रसाद ग्रहण गरेका छन् ।
राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् । त्यसपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई टीका लगाइदिएका थिए ।
त्यस्तै, उपराष्ट्रपति यादवले लैनचौरस्थित उपराष्ट्रपति भवनमा गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका थिए। त्यसपछि उनले पनि परिवारका सदस्यलाई टीका लगाइदिएका थिए ।
विजयादशमीका अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न स्थानमा परिवारका सदस्य तथा आफन्त भेला भएर मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै दसैँ मनाएका छन् ।

























