मोरङको मझारेमा ‘रावण दहन’, नेपाल-भारतका हजारौँ सहभागी

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ६, शुक्रबार ०८:२०

विराटनगर । मोरङको जहदा गाउँपालिका-७ मझारेस्थित दुर्गा मन्दिर परिसरमा विजयादशमीको अवसरमा रावण दहन कार्यक्रम आयोजना गरिएको छ । केही वर्षअघि सुरु भएको कार्यक्रममा यसपटक पनि नेपाल र भारतका हजारौँ श्रद्धालु सहभागी भएको आयोजकले जनाएको छ ।

जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र साहले रावणको पुतलामा अग्नि प्रज्वलन गरेपछि कार्यक्रम सुरु भएको थियो । पुतला जल्न थालेसँगै उपस्थित सर्वसाधारणले जयकार गर्दै उत्साह व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्ष साहले रावण दहन अन्यायमाथि न्याय र अधर्ममाथि धर्मको विजयको प्रतीक भएको बताए । केही वर्षअघि सुरु भएको यो परम्परा अहिले मझारेको सांस्कृतिक पहिचान बन्दै गएको भन्दै उनले यसको संरक्षण र व्यवस्थापनमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

यस्ता सामूहिक उत्सवले नेपाल-भारत सीमा क्षेत्रका बासिन्दाबीच सद्भाव र भाइचारा बढाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

स्थानीय रविकान्त साहका अनुसार मझारेमा केही वर्षयता मात्रै रावण दहन कार्यक्रम सुरु भएको हो । पहिले रावण दहन हेर्न टाढा जानुपर्ने भए पनि अहिले गाउँमै कार्यक्रम हुन थालेपछि स्थानीय एकै ठाउँमा भेला हुन पाएको उनले बताए । कार्यक्रममा सीमापारिका आफन्त र साथीभाइसमेत सहभागी हुने गरेको उनको भनाइ छ ।

हिन्दु धार्मिक मान्यताअनुसार लङ्काका राजा रावणले सीतालाई हरण गरेपछि भगवान् श्रीरामले विजयादशमीका दिन उनको वध गरेका थिए । यही विजयको सम्झनामा दसैँको दशमीमा रावणको पुतला दहन गर्ने परम्परा छ ।

त्यस्तै, नौ दिनसम्म चलेको युद्धपछि देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको दिनका रूपमा पनि दशमीलाई मानिन्छ । रावण दहनलाई अहङ्कार, अन्याय र दुष्टताको अन्त्य तथा सत्य र धर्मको विजयको प्रतीकका रूपमा लिने गरिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×