
विराटनगर । मोरङको लेटाङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ नगरपालिका-५ डिल्लेचोकका ७० वर्षीय वनबहादुर विक छन् ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ६ बजेर ५० मिनेटमा भित्री सडकखण्डको छेउमा घाइते अवस्थामा भेटिएका विकलाई उपचारका लागि लेटाङ नगर अस्पताल लगिएको थियो । चिकित्सकले साँझ ७ बजेर १५ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए ।
अनुसन्धानका क्रममा लेटाङ बजारबाट डिल्लेचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ६३८० नम्बरको मोटरसाइकलले ठक्कर दिएको खुलेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक १७ वर्षीय तामिल मगर र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

























