क्रिकेटर एन्जेलो म्याथ्युजकाठमाडौं । श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगर किङ्ग्समा उनलाई स्वागत गर्दै उनी एक अनुभवी, उत्कृष्ट र शालीन खेलाडी भएको उल्लेख गरेको छ ।
म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका अनुभवी खेलाडी हुन्। श्रीलङ्काको टेस्ट तथा एकदिवसीय टोलीको कप्तानी सम्हालिसकेका ३९ वर्षीय म्याथ्युजले लामो समय राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा टेष्टमा ११९ खेलमा आठ हजार २१४, एकदिवसीयमा २२६ खेलमा पाँच हजार ९१६ र ९० टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ४१६ रन बनाएका छन्।
बलिङतर्फ उनले टेष्टमा ३३, एकदिवसीयमा १२६ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४५ विकेट लिएका छन्। म्याथ्युजले इण्डियन प्रिमियर लिग (आइपिएल) र लङ्का प्रिमियर लिग (एलपिएल) पनि खेलिसकेका छन्।
यस्तै, दक्षिण अफ्रिकीमूलका अमेरिकन अलराउन्डर शेड्ली भान स्काल्कविकले लुम्बिनी लायन्सबाट एनपिएल खेल्ने भएका छन्। लुम्बिनीले आज सामाजिक सञ्जालमार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो।
शेड्लीले हालसम्म १३ एकदिवसीय खेल र १८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल), लङ्का प्रिमियर लिग (एलपिएल), आईएल टी–२० जस्ता प्रतिष्ठित लिगमा प्रतिस्पर्धा गरिसकेका छन्। तेस्रो संस्करणको एनपिएल यही कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ।



















