
विराटनगर । साहित्यकार तोमनाथ उप्रेतीको समालोचना संग्रह ‘अक्षरभित्र चिन्तन’ विराटनगरमा विमोचन गरिएको छ । विराट साहित्य संगम, मोरङको नियमित मासिक साहित्यिक भेटघाटका अवसरमा आयोजित कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा प्राज्ञ विवश पोखरेलले कृतिको विमोचन गरे ।
विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समालोचक निर्मला कोइरालाले कृतिमाथि समीक्षा गर्दै यसको विषयगत विविधता, समालोचनात्मक दृष्टिकोण र साहित्यिक महत्त्वबारे चर्चा गरिन् । लेखक उप्रेतीले कृतिको लेखन उद्देश्य र समालोचनाप्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए ।
कृतिमा विराटनगरलाई कर्मभूमि बनाएर साहित्य सिर्जनामा सक्रिय विभिन्न स्रष्टाका कविता, कथा, उपन्यास, खण्डकाव्य, मुक्तक र नाटकलगायतका कृतिमाथि समालोचना गरिएको छ। साहित्यिक सिर्जनालाई सामाजिक यथार्थ, मानवीय संवेदना, जीवनदर्शन, वर्गीय असमानता र सांस्कृतिक चेतनाका दृष्टिले विश्लेषण गर्नु संग्रहको प्रमुख विशेषता हो।
समालोचनालाई प्रशंसा वा निन्दामा सीमित नराखी पाठगत प्रमाण, कलात्मक संरचना र सामाजिक अर्थका आधारमा कृतिको मूल्यांकन गर्नुपर्ने दृष्टिकोण संग्रहले अघि सारेको छ । यसले विराटनगरको साहित्यिक योगदानको अभिलेखीकरणसँगै नेपाली साहित्यमा आलोचनात्मक चेतना र साहित्यिक विमर्श विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा साहित्यकार, समालोचक, प्राध्यापक, अनुसन्धाता, साहित्यप्रेमी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।



















