
काठमाडौं । पूर्वउपराष्ट्रपति तथा नेकपा (एमाले) की नेतृ विद्यादेवी भण्डारीले चीनको हपई प्रान्तस्थित सिओङगानमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरम २०२६ मा सम्बोधन गर्ने भएकी छन्।
फोरममा सहभागी हुन चीन पुगेकी भण्डारीले विश्वव्यापी शासन व्यवस्था, अन्तर्राष्ट्रिय सहकार्य र समसामयिक विश्व चुनौतीसँग सम्बन्धित विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रमको उद्घाटन चीनका विदेशमन्त्री वाङ यीले गर्नेछन्।
कार्यक्रममा भण्डारीसहित जर्मनीका पूर्वचान्सलर गेरहार्ड स्रोडर, किर्गिजस्तानका पूर्वप्रधानमन्त्री जोमर्ट ओतोरबाइभलगायत विभिन्न देशका उच्च अधिकारी सहभागी हुनेछन्। त्यस्तै, संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय रेडक्रसलगायत संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहने जनाइएको छ।
फोरममा संयुक्त राष्ट्रसंघको सन् २०३० सम्मको दिगो विकाससम्बन्धी एजेन्डा, दक्षिण–दक्षिण सहकार्य र विश्वव्यापी विकासका प्राथमिकताबारे छलफल हुने बताइएको छ। विकासशील राष्ट्रहरूबीच सहयोग विस्तार तथा अन्तर्राष्ट्रिय चुनौतीको सामूहिक समाधान खोज्ने विषय पनि छलफलको प्रमुख हिस्सा रहनेछ।
यसका अतिरिक्त कृत्रिम बुद्धिमत्ता (एआई), मानवीय सहायता, विभिन्न सभ्यताबीचको सम्बन्ध तथा विश्व व्यवस्थामा भइरहेको परिवर्तनबारे पनि कार्यक्रममा विमर्श हुनेछ। बहुध्रुवीय विश्व व्यवस्थाको विकास र त्यसले अन्तर्राष्ट्रिय सम्बन्धमा पार्ने प्रभावबारे विभिन्न समानान्तर सत्रहरू सञ्चालन गरिने जनाइएको छ।
विश्वका विभिन्न देशका पूर्व तथा वर्तमान उच्च अधिकारी र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी हुने यस फोरमलाई विश्वव्यापी शासन व्यवस्था र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा विचार आदानप्रदान गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।

























