दुर्गम याङ्मा यात्रामा सहजता थपिँदै, ढासापारमा बन्यो आश्रयस्थल

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ८, आइतबार ०७:५०
दुर्गम याङ्मा यात्रामा सहजता थपिँदै, ढासापारमा बन्यो आश्रयस्थल

ताप्लेजुङ । हिमाली पदमार्गको कठिन यात्रा, बाटोमै रात बिताउनुपर्ने बाध्यता र बासको अनिश्चितता। ताप्लेजुङको दुर्गम याङ्मा बस्ती पुग्ने पदयात्रीले भोग्दै आएको यस्तो सास्ती कम गर्न ओलाङचुङगोलाले पदमार्गको बीच भागमा आश्रयस्थल निर्माण गरेको छ।

फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाले ओलाङचुङगोला–याङ्मा पदमार्गको ढासापारमा आश्रयस्थल निर्माण गरेको हो। पदमार्गको झन्डै मध्य भागमा बनाइएको आश्रयस्थलमा पदयात्री तथा बटुवाको सुविधाका लागि सुत्न म्याट र खाना पकाउन आवश्यक भाँडा वर्तनसहितका सामग्री राखिएका छन्। यसले ओलाङचुङगोलाबाट एकै दिनमा याङ्मा पुग्न नसक्ने यात्रुलाई सुरक्षित रूपमा रात बिताउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन वालुङ शेर्पाका अनुसार प्राकृतिक सौन्दर्यले भरिपूर्ण याङ्माको यात्रालाई थप व्यवस्थित, सहज र सुरक्षित बनाउने उद्देश्यले आश्रयस्थल निर्माण गरिएको हो। उनले आश्रयस्थलमा राखिएका सामग्रीको जतन गर्न र त्यसलाई सुरक्षित राख्न पदयात्री तथा बटुवालाई आग्रह गरेका छन्। आश्रयस्थललाई दिगो रूपमा सञ्चालन गर्न सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको उनको भनाइ छ।

ओलाङचुङगोलाबाट करिब ३० किलोमिटर उत्तरमा पर्ने याङ्मा ताप्लेजुङकै अत्यन्त दुर्गम बस्तीमध्ये एक हो। समुद्र सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको यस बस्तीमा पदमार्गबाहेक यातायातको सुविधा छैन। सञ्चार र विद्युत्जस्ता आधारभूत सुविधाबाट समेत वञ्चित याङ्माका बासिन्दाको दैनिकी भौगोलिक विकटताका कारण चुनौतीपूर्ण छ।

साविक ओलाङचुङगोला गाविस–९ मा पर्ने याङ्मामा सुरुमा १७ घरपरिवारको बसोबास रहेकामा अहिले १० देखि ११ परिवार स्थायी रूपमा बस्दै आएका छन्। कम जनसङ्ख्या र कठिन भौगोलिक अवस्थाका बाबजुद प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यो बस्ती पछिल्लो समय पदयात्रीको आकर्षण बन्न थालेको छ।

मनोरम हिमाली दृश्य, मौलिक संस्कृति र ऐतिहासिक पहिचानले याङ्मा आन्तरिक तथा बाह्य पदयात्रीका लागि चासोको गन्तव्य बन्दै गएको छ। तर, दुर्गम भूगोल र न्यून पूर्वाधारका कारण यहाँको यात्रा सहज छैन। ढासापारमा निर्माण गरिएको आश्रयस्थलले यात्राका क्रममा बासको समस्या कम गर्नुका साथै याङ्मासम्मको पदयात्रालाई थप सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×