
विराटनगर । दूध उमाल्ने प्रयोजनका लागि भुस बाल्दा निस्कने कालो धुलो र मसिना कणको उचित व्यवस्थापन नहुँदा विराटनगरमा दुग्ध विकास संस्थान (डीडीसी)को दुग्ध वितरण आयोजना आसपासका बस्तीका बासिन्दा समस्यामा परेका छन् ।
विराटनगर महानगरपालिका–३ र ४ मा रहेका घर, आँगन, छत, झ्याल र कोठाभित्रै कालो धुलो जम्न थालेपछि स्थानीयले वातावरणीय प्रदूषण नियन्त्रण गर्न माग गरेका छन् । स्थानीयका अनुसार भुस बाल्दा निस्कने धुलो र मसिना कणले वरपरका घर कालाम्मे बनाएको छ ।
बिहान उठ्दा घरका भित्ता, झ्याल र आँगनमा कालो धुलो जमेको देखिन्छ । घरबाहिर हिँड्दा खुट्टामा समेत कालो धुलो लाग्ने गरेको स्थानीयको भनाइ छ । दैनिक जनजीवन प्रभावित हुनुका साथै बालबालिका, गर्भवती र ज्येष्ठ नागरिकको स्वास्थ्यमा यसको असर देखिन थालेको स्थानीय बताउँछन् ।
स्थानीय बासिन्दासमेत रहेका युवा नेता मुकेश बुढाथोकीले डीडीसीबाट निस्कने धुलो र मसिना कणका कारण आसपासका बस्तीमा बस्न कठिन हुन थालेको बताए । उनका अनुसार यसअघि पनि स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै प्रदूषण नियन्त्रण गर्न आग्रह गरेका थिए । त्यसबेला सुधार गर्ने आश्वासन दिइए पनि व्यवहारमा समस्या समाधान नभएको उनको गुनासो छ ।
‘यसअघि पनि खबरदारी गरिएको हो । हामी सुधार गर्छौं भन्ने कुरा थियो । तर, अहिलेसम्म वास्ता गरिएको छैन । मानवीय स्वास्थ्यमा खेलवाड गरियो,’ बुढाथोकीले भने ।
उनका अनुसार रातको समयमा उद्योगका मेसिन सञ्चालन हुने गरेको हुन सक्ने स्थानीयको आशंका छ । बिहान घरबाहिर निस्कँदा घरका भित्ता, आँगन र झ्यालमा कालो धुलो तथा मसिना कण भरिएको देखिने गरेको उनले बताए । ‘हिँड्दा खुट्टाभरि कालो धुलो लाग्छ । वरपरका मानिसमा स्वास्थ्य समस्या देखिन थाल्यो,’ बुढाथोकीले भने ।
बस्तीमा धुलोको समस्या बढ्दै जाँदा दमका बिरामी, ज्येष्ठ नागरिक र साना बालबालिकालाई विशेष असर पर्न थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
डीडीसीले भने भुस बाल्दा धुलो र मसिना कण निस्कने स्वीकार गर्दै प्रदूषण नियन्त्रणको उपाय खोजिरहेको जनाएको छ । दुग्ध विकास संस्थान विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्माले संस्थानभन्दा आसपासका बस्ती पछि विस्तार भएको बताए । ‘संस्थान पुरानो हो । बस्ती नयाँ हो,’ शर्माले भने ।
उनले दूध उमाल्ने प्रयोजनका लागि भुस बाल्ने गरिएको र त्यस क्रममा कालो धुलो तथा मसिना कण निस्कने गरेको स्वीकार गरे । प्रदूषण कम गर्ने उपायका बारेमा अध्ययन भइरहेको उनको भनाइ छ । ‘प्रदूषण कम गर्नलाई ‘फिल्टर’ पनि गर्ने काम भइरहेको छ,’ उनी भन्छन् ।
‘भुस बालेर दूध बोयलिङ गर्ने गरिएको छ । भुस बालेपछि कालो धुलो र मसिनो कण निस्किन्छ नै । प्रदूषणरहित बनाउन धेरै उपाय अपनाइएको छ । अझै त्यसलाई कसरी कम गर्न सकिन्छ भनेर अध्ययन भइरहेको छ,’ शर्माले भने ।
संस्थानले प्रदूषण नियन्त्रणका उपाय अपनाइएको बताए पनि समस्या पूर्णरूपमा समाधान हुने समयसीमा र तत्काल अपनाइने उपायका बारेमा स्पष्ट जानकारी दिएको छैन । स्थानीय भने अध्ययन र आश्वासनमा मात्र सीमित नभई धुलोको स्रोत नियन्त्रण गर्ने प्रभावकारी उपाय तत्काल कार्यान्वयन हुनुपर्ने माग गर्छन् ।
उद्योगबाट निस्कने धुवाँ, धुलो र मसिना कणको मात्रा कति छ, त्यसले वातावरण र मानव स्वास्थ्यमा कस्तो असर पारिरहेको छ तथा प्रदूषण नियन्त्रणका लागि कस्ता प्रविधि आवश्यक छन् भन्ने विषयमा सम्बन्धित निकायबाट प्राविधिक परीक्षण हुनुपर्ने सरोकारवाला बताउँछन् । उद्योगको सञ्चालन र प्रदूषण नियन्त्रणसम्बन्धी व्यवस्थाको अनुगमन गरी आवश्यक सुधार गर्नुपर्ने स्थानीयको माग छ ।
नागरिकको स्वास्थ्य र स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारसँग जोडिएको यस विषयमा दुग्ध विकास संस्थानसँगै विराटनगर महानगरपालिका, वातावरणसम्बन्धी निकाय र जिल्ला प्रशासन कार्यालयले समेत चासो दिनुपर्ने स्थानीय बताउँछन् । स्थानीयले तत्काल प्रदूषण नियन्त्रण, नियमित अनुगमन र दीर्घकालीन समाधानको माग गरिरहेका छन् ।
दूध उत्पादन तथा प्रशोधनका क्रममा हुने कामले आसपासका नागरिकको दैनिक जीवन र स्वास्थ्यमा असर पर्ने अवस्था कहिलेसम्म कायम रहने भनेर स्थानीयले प्रश्न गरेका छन् । डीडीसीले प्रदूषण नियन्त्रणको प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने स्थानीयको माग छ ।

























