
झापा । दसैँको उल्लाससँगै पाकेको धानबाली भित्र्याउने चटारोमा रहेका झापाका सीमावर्ती बस्तीमा अहिले जंगली हात्तीको त्रास छ ।
चारकोशे जलथल जंगलबाट निस्किएका दुईवटा हात्तीले नेपाल र भारतमा दुई दिनभित्र तीन जनाको ज्यान लिएपछि सर्वसाधारणको सुरक्षाका लागि सशस्त्र प्रहरीले निगरानी र गस्ती बढाएको छ । हात्तीको सम्भावित आवागमन र आक्रमणबाट मानवीय तथा भौतिक क्षति रोक्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाले प्रभावित क्षेत्रमा सचेतनामूलक अभियान सञ्चालन गरेको छ ।
मोबाइल र पैदल गस्ती टोली परिचालन गरी निगरानी बढाइएको गणका प्रमुख एवं सशस्त्रका एसपी सचिन कर्माचार्यले जानकारी दिए । गत कात्तिक ३ गते महानवमीका दिन बाह्रदशी गाउँपालिकामा जंगली हात्तीले दुई वृद्धवृद्धाको ज्यान गएपछि आसपासका बस्तीमा त्रास फैलिएको हो । बाह्रदशी गाउँपालिका–२, जनता बजारकी ७० वर्षीया लजमा खातुन र सोही वडाको चैतनियाबारीका ७३ वर्षीय झप्टु राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।
बिहान करिब ५ बजे मर्निङ वाकमा निस्किएका राजवंशीलाई खाडी गाउँमा दुईवटा हात्तीले आक्रमण गरेका थिए । त्यसको करिब ४० मिनेटपछि बिहान ५ बजेर ४० मिनेटमा घरबाहिर निस्किएकी खातुन पनि हात्तीको आक्रमणमा परेकी थिइन् । खातुनलाई उपचारका लागि लैजाने क्रममा र राजवंशीलाई उपचार गराउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापामा दुई जनाको ज्यान लिएका हात्ती त्यसको भोलिपल्ट विजयादशमीका दिन भारतको किशनगञ्ज जिल्लास्थित बहादुरगञ्ज थाना क्षेत्रको गांगी गाउँ पुगेका थिए । त्यहाँ हात्तीको आक्रमणबाट अलताबाडी निवासी वृद्ध मोफीज आलमको मृत्यु भएको थियो भने एक बालक गम्भीर घाइते भएका थिए ।
दुई दिनमै नेपाल र भारतमा तीन जनाको मृत्यु भएपछि सीमावर्ती क्षेत्रका बासिन्दा थप त्रसित बनेका छन् । चारकोशे जलथल जंगलसँग बाह्रदशी, कचनकवल, भद्रपुर र हल्दिबारी गाउँपालिका जोडिएकाले ती क्षेत्रका बस्तीमा हात्ती प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको हो । दुवै देशका सुरक्षा निकाय र वनसम्बद्ध निकायले समेत सम्भावित जोखिम न्यूनीकरणका लागि निगरानी बढाएका छन् ।
दसैँको टीका, जमरा र पारिवारिक भेटघाटमा सर्वसाधारण व्यस्त रहेका बेला सशस्त्र प्रहरी कर्मचारी भने चाडपर्व र पारिवारिक भेटघाटलाई थाँती राखेर नागरिकको जिउधनको सुरक्षामा खटिएका थिए । हात्ती प्रभावित क्षेत्रमा गाउँगाउँ पुगेर माइकिङ गर्ने, जोखिमका बारेमा जानकारी दिने र सावधानी अपनाउन आग्रह गर्ने काम भइरहेको एसपी कर्माचार्यले बताए ।
उनका अनुसार बिहान–बेलुका झिसमिसे र रातको समयमा हात्तीसँग मानिसको जम्काभेट हुने सम्भावना बढी रहने भएकाले अत्यावश्यक कामबाहेक अँध्यारो समयमा घरबाहिर ननिस्कन स्थानीयलाई आग्रह गरिएको छ । पाकेको धानबाली जोगाउने चिन्तामा रहेका किसानलाई समेत हात्तीको जोखिमप्रति सचेत रहन भनिएको छ ।
हात्ती देखिएमा नआत्तिन, त्यसलाई जिस्क्याउने वा लखेट्ने प्रयास नगर्न र सम्भव भएसम्म सुरक्षित स्थानतर्फ जान प्रहरीले अनुरोध गरेको छ । बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाको विशेष ख्याल गर्न तथा उनीहरूलाई घरबाहिर एक्लै हिँडडुल गर्न नदिन पनि सचेत गराइएको छ । बिहान सबेरै र साँझपख आवतजावत गर्दा विशेष सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय झापाले समेत आग्रह गरेको छ ।
हात्तीको गतिविधि र सम्भावित जोखिमलाई ध्यानमा राखेर प्रभावित क्षेत्रमा मोबाइल तथा पैदल गस्ती टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाका सूचना अधिकारी एवं सशस्त्र प्रहरीका डीएसपी सुजित विष्टले बताए । सुरक्षा निगरानीसँगै स्थानीयलाई सचेत गराउने अभियानलाई निरन्तरता दिइएको जानकारी उनले दिए ।
उपलब्ध स्रोतसाधन परिचालन गरेर स्थानीय प्रशासन, सम्बन्धित निकाय र सर्वसाधारणसँग समन्वय तथा सहकार्य भइरहेको विष्टले बताए । हात्तीको गतिविधिका बारेमा सूचना आदानप्रदान गर्ने, निगरानी बढाउने र जनचेतनामूलक गतिविधिलाई प्रभावकारी बनाउने काम भइरहेको उनको भनाइ छ ।
सशस्त्र प्रहरीले घर, गोठ र आँगन आसपास हात्तीलाई आकर्षित गर्ने खानेकुरा खुला रूपमा नराख्न तथा हात्तीले मन पराउने बोटबिरुवा सकेसम्म घरनजिक नरोप्न आग्रह गरेको छ । रातको समयमा घरवरिपरि पर्याप्त उज्यालोको व्यवस्था गर्न र बाक्लो झाडी सफा राख्न पनि भनिएको छ ।
हात्ती गाउँमा प्रवेश गरेको देखेमा नजिक जाने, फोटो खिच्ने, होहल्ला गर्ने वा लखेट्ने प्रयास नगर्न प्रहरीले सचेत गराएको छ । यस्ता गतिविधिले जोखिम बढाउन सक्ने भएकाले सुरक्षित दूरी कायम गर्नुपर्नेमा जोड दिइएको छ ।
हात्ती गाउँमा प्रवेश गरेको देखिएमा वा कुनै समस्या आइपरेमा तत्काल सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाको सम्पर्क नम्बर ९८५१२७२१२५ मा जानकारी गराउन स्थानीयलाई आग्रह गरिएको छ ।

























