कोशी प्रदेश : पर्यटन वर्षमा करोडौँ खर्च, पर्यटक आगमन भने २२ प्रतिशतले घट्यो

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ९, सोमबार १६:४४

विराटनगर । पर्यटक बढाउने र प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको गन्तव्य बनाउने उद्देश्यसहित कोशी प्रदेश सरकारले सञ्चालन गरेको पर्यटन वर्ष अपेक्षित परिणाम दिन असफल देखिएको छ ।

प्रदेशमा बाह्य पर्यटकको आगमन २१.८ प्रतिशतले घटेको छ भने होटलको अकुपेन्सी, रोजगारी र हवाई सेवासमेत प्रभावित भएका छन् । पर्यटक आकर्षित गर्ने कार्यक्रमका लागि सरकारले करोडौँ रुपैयाँ खर्च गरे पनि आगमनको तथ्यांकले पर्यटन क्षेत्रको अवस्था कमजोर बनेको देखाएको छ ।

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–०८३ को वार्षिक प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार कोशी प्रदेशका पर्यटकीय स्तरका होटलमा आउने बाह्य पर्यटकको संख्या घटेर ४७ हजार ४५७ मा सीमित भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१–०८२ मा भने बाह्य पर्यटकको आगमन २८.६ प्रतिशतले बढेको थियो ।

यसपटक भारतीय र अन्य विदेशी पर्यटकको आगमनमा आएको गिरावटले समग्र पर्यटन क्षेत्रलाई प्रभावित पारेको छ । भारतबाट आउने पर्यटकको संख्या १९.१ प्रतिशतले घटेको छ भने तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या ५३.८ प्रतिशतले कम भएको छ । चिनियाँ पर्यटकको आगमनमा भने ०.७ प्रतिशतको सामान्य वृद्धि देखिएको छ । आन्तरिक पर्यटकको आवागमनसमेत अघिल्लो वर्षको तुलनामा ७.६ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

पर्यटक घटेपछि होटल व्यवसायको कारोबार र क्षमताको उपयोगमा समेत असर परेको छ । पर्यटकीय स्तरका होटलको औसत अकुपेन्सी ३९.२ प्रतिशतबाट घटेर ३२ प्रतिशतमा झरेको छ । होटलमा उपलब्ध शय्याको संख्यामा समेत ३.३ प्रतिशतले कमी आएको छ । पर्यटकको चहलपहल घट्दा होटलमा काम गर्ने श्रमिकको रोजगारी पनि प्रभावित भएको छ । समीक्षा अवधिमा यस क्षेत्रका ६.५ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन् । अघिल्लो आर्थिक वर्षमा भने होटल क्षेत्रको प्रत्यक्ष रोजगारी १२.४ प्रतिशतले बढेको थियो ।

पर्यटन क्षेत्रको कमजोर गतिविधि हवाई सेवामा पनि देखिएको छ । आर्थिक वर्ष २०८२–०८३ मा कोशी प्रदेशका विमानस्थलबाट भएका हवाई उडानको संख्या ४।९ प्रतिशतले घटेर ५० हजार ९२६ मा झरेको छ । अघिल्लो आर्थिक वर्षमा पनि उडान संख्या १.२ प्रतिशतले घटेको थियो ।

विमानस्थलबाट आवतजावत गर्ने यात्रुको संख्यामा समेत २.४ प्रतिशतले कमी आएको छ । समीक्षा वर्षमा प्रदेशका विमानस्थलमा १२ लाख १७ हजार ३८१ यात्रुको आवागमन भएको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये आगमन यात्रुको संख्या २.७ प्रतिशत र प्रस्थान यात्रुको संख्या २.१ प्रतिशतले घटेको छ ।

प्रचार र पूर्वाधार अभावले पर्यटनमा बाधा

राष्ट्र बैंकको अध्ययनले कोशी प्रदेशका पर्यटकीय गन्तव्यको पर्याप्त प्रचारप्रसार नहुनु र आवश्यक पूर्वाधार कमजोर रहनुलाई पर्यटन विकासका प्रमुख अवरोधका रूपमा औँल्याएको छ । पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी प्रचार हुन नसक्नु, अनलाइनमार्फत गन्तव्यको जानकारी पाउने र बुकिङ गर्ने व्यवस्था पर्याप्त नहुनुले पर्यटक आकर्षित गर्न कठिन भएको प्रतिवेदनमा उल्लेख छ ।

दुर्गम क्षेत्रका पर्यटकीय स्थलसम्म पुग्न सहज सडक तथा सार्वजनिक यातायातको अभाव छ । गुणस्तरीय होटल र रिसोर्ट, सफा खानेपानी, शौचालय तथा सरसफाइको पर्याप्त व्यवस्था नहुँदा पर्यटकको बसाइ सहज बनाउन चुनौती देखिएको छ । बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध हुँदा पनि पर्यटकीय आवागमन प्रभावित हुने गरेको छ ।

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा जाने प्रमुख मार्ग मेची राजमार्गको माईखोला खण्डमा पहिरोका कारण लामो समय आवागमन अवरुद्ध भएको विषयलाई पनि प्रतिवेदनले समस्याका रूपमा समेटेको छ । दुर्गम गन्तव्यमा पर्यटकका लागि आवश्यक सूचना, आकस्मिक उद्धार र सुरक्षाको भरपर्दो व्यवस्था पर्याप्त नहुँदा विदेशी पर्यटक आकर्षित गर्न थप कठिनाइ भएको अध्ययनको निष्कर्ष छ ।

सम्भावना धेरै, उपयोगमा चुनौती

पर्यटक आगमन घटे पनि कोशी प्रदेशमा पर्यटन विस्तारको सम्भावना पर्याप्त रहेको प्रतिवेदनले देखाएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, तेस्रो अग्लो कञ्चनजंघा र मकालुजस्ता आठ हजार मिटरभन्दा अग्ला हिमाल प्रदेशमा छन् । यी गन्तव्यलाई लक्षित गरी सुविधासम्पन्न होटल, केबलकार र अन्य पर्यटकीय पूर्वाधार विकास गर्न सके साहसिक तथा दृश्यावलोकन पर्यटन विस्तार गर्न सकिने सुझाव दिइएको छ ।

धार्मिक पर्यटनमा पनि प्रदेशले ठूलो सम्भावना बोकेको छ । झापाको अर्जुनधारा जलेश्वर धाम, ताप्लेजुङको पाथीभरा देवी, खोटाङको हलेसी महादेव, सुनसरीको बराहक्षेत्र र चतराधामलाई एउटै पर्यटकीय सर्किटमा जोड्न सके भारतीय पर्यटक आकर्षित गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । बिहार, पश्चिम बंगाल र उत्तर प्रदेशजस्ता भारतीय राज्यबाट धार्मिक पर्यटक भित्र्याउन यी गन्तव्य उपयोगी हुन सक्ने देखिएको छ ।

त्यस्तै, सीमावर्ती क्षेत्रमा स्वास्थ्य पर्यटनको सम्भावना उपयोग गर्न सकिने अध्ययनले औँल्याएको छ । भारतीय सीमावर्ती क्षेत्रमा आधुनिक अस्पतालको विस्तारसँगै कोशीमा स्वास्थ्य सेवासँग जोडिएको पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । सीमावर्ती सहरका तारे होटलमा गन्तव्य विवाह तथा व्यावसायिक बैठक आयोजना गर्ने र इलाम, भेडेटार, वसन्तपुर तथा तीनजुरे–मिल्के–जलजलेलाई कृषि पर्यटनसँग जोड्ने हो भने पर्यटकको संख्या र बसाइ अवधि बढाउन सकिने सुझाव दिइएको छ ।

पर्यटन वर्षका लागि बजेट, उपलब्धि भने कमजोर

कोशी प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि बजेट छुट्याउँदै आए पनि पर्यटक आगमन बढाउने लक्ष्य पूरा हुन सकेको छैन । प्रदेश सरकारले आर्थिक वर्ष २०८२–०८३ को बजेटमा ‘कोशीको गौरव, हिमालको शानः पर्यटन वर्षमा सबैलाई सम्मान’ नारासहितका कार्यक्रम सञ्चालन गर्न ५ करोड ८२ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये २ करोड ४१ लाख रुपैयाँ अर्थात् ४५.६० प्रतिशत मात्र खर्च भएको छ ।

यसअघि आर्थिक वर्ष २०८१–०८२ मा पनि प्रदेश सरकारले पर्यटन वर्षका नाममा ४ करोड ३९ लाख रुपैयाँ खर्च गरेको थियो । पर्यटन वर्ष २०८२ मार्फत कोशीलाई स्थापित पर्यटकीय गन्तव्य बनाउने, पर्यटनबाट आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्ने, ओझेलमा परेका गन्तव्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने र भारतीय तथा अन्य विदेशी पर्यटकको संख्या बढाउने लक्ष्य राखिएको थियो । पर्यटकको बसाइ अवधि लम्ब्याउने अपेक्षा पनि सरकारको थियो ।

तर, राष्ट्र बैंकको प्रतिवेदनमा समेटिएका तथ्यांकले पर्यटक आगमन, होटलको अकुपेन्सी र रोजगारीमा सुधार आउनुको सट्टा गिरावट देखाएका छन् । यसले पर्यटन प्रवर्द्धनका कार्यक्रमको प्रभावकारिता र बजेट खर्चबाट प्राप्त उपलब्धिका बारेमा प्रश्न उठाएको छ ।

सरकारले भने आगामी कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा २०८३ साउनदेखि २०८५ असारसम्म ‘कोशी प्रदेश भ्रमण वर्ष’ सञ्चालन गर्ने उल्लेख छ । यसका लागि १२ करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा जनाइए पनि रातो किताबमा उक्त बजेट नै नरहेको पाइएको छ ।

पर्यटनलाई रोजगारी, स्थानीय व्यवसाय र प्रदेशको अर्थतन्त्रसँग जोड्ने सरकारी लक्ष्यका बीच पर्यटक आगमनमा आएको गिरावटले प्रवर्द्धनका कार्यक्रम मात्रै पर्याप्त नहुने देखाएको छ । गन्तव्यको प्रचारप्रसार, यातायात तथा पर्यटकीय पूर्वाधार, सुरक्षा र सेवा सुविधामा सुधार गर्न नसके पर्यटन वर्षका नाममा घोषणा गरिएका कार्यक्रमले अपेक्षित परिणाम दिन कठिन हुने देखिन्छ ।

तपाइको प्रतिक्रिया
चीनको ग्लोबल गभर्नेन्स फोरममा सहभागी भएर फर्किइन् विद्यादेवी भण्डारी
जापानको राजनीतिमा तीन दशक प्रभाव जमाएका पूर्वप्रधानमन्त्री फुकुदाको निधन
ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य गर्न आयल निगमको निर्देशन
चक्रवात ‘अर्णव’को प्रभाव कोशीसहित चार प्रदेशमा, बिहीबारदेखि भारी वर्षा र हिमपातको सम्भावना
झापाको एक घरबाट ८ लाख रुपैयाँ बराबरको धनमाल चोरी
सुरु भयो एनपीएल, उद्घाटन खेलमा टस जितेर बलिङ गर्दै लुम्बिनी
निर्वाचनको मुखमा टिकट बाँड्ने र खोस्ने काम अब हुँदैनः थापा
बेलायतका नेपालीले दिए बाढीपीडितका लागि एक करोड
कोशी प्रदेश : पर्यटन वर्षमा करोडौँ खर्च, पर्यटक आगमन भने २२ प्रतिशतले घट्यो
एनपीएललाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीको सात बुँदे आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×