
झापा । तिहारलाई लक्षित गरेर झापाको शिवसताक्षी नगरपालिका–१० ट्याक्रमका महिलाले सामूहिक सयपत्री फूलखेती गरेका छन् । छ कठ्ठा जमिनमा लगाइएको १० हजार बिरुवामा फूल फुलेपछि उनीहरूलाई अहिले फूल टिप्ने, माला उन्ने र बजारसम्म पुर्याउने चटारो छ ।
सयपत्री फूल कृषक आमासमूह बनाएर खेतीमा जुटेका महिलाले फूल बिक्रीबाट यस वर्ष राम्रो आम्दानी गर्ने लक्ष्य राखेका छन् । करिब २५ हजार रुपैयाँ लगानीमा सुरु गरिएको खेतीबाट तीन लाख रुपैयाँसम्म आम्दानी हुने समूहको अनुमान छ ।
समूहकी संयोजक कविता बस्नेतका अनुसार फूलखेतीलाई आम्दानीको माध्यम बनाउने उद्देश्यले महिलाहरू सामूहिक रूपमा जुटेका हुन् । आफ्नै गाउँमा श्रम गरेर कमाउन सकिने र घरायसी जिम्मेवारीसँगै आयआर्जनमा सहभागी हुन सकिने भएकाले खेतीप्रति उनीहरूको आकर्षण बढेको राससले जनाएको छ ।
तिहार नजिकिएसँगै समूहका सदस्यलाई उत्पादन बिक्रीको तयारीले व्यस्त बनाएको छ । फूलबाट माला तयार पारेर प्रतिगोटा १०० देखि १५० रुपैयाँसम्ममा बिक्री गर्ने उनीहरूको अपेक्षा छ । तर, फूलको उत्पादन राम्रो हुनु मात्रै पर्याप्त छैन । समयमै बजार नपाए फूल ओइलिने र किसानले अपेक्षित आम्दानी गुमाउनुपर्ने जोखिम पनि छ ।
यही जोखिम कम गर्न समूहले सम्भावित वर्षाबाट फूल जोगाउने र तयार पारिएका माला कोल्ड स्टोरमा भण्डारण गर्ने योजना बनाएको संयोजक बस्नेतले बताइन् ।
स्थानीयस्तरमा फूलखेती विस्तार हुँदा किसानको आम्दानी बढ्नुका साथै तिहारमा बाहिरबाट फूल ल्याउनुपर्ने निर्भरता पनि कम हुन सक्छ । यसलाई अवसरका रूपमा लिँदै शिवसताक्षी नगरपालिकाले समेत महिलाको प्रयासलाई प्रोत्साहन गरेको छ ।
नगरप्रमुख मेगाहाङ थोप्राका अनुसार नगरपालिकाले फूलखेतीका लागि बिरुवा खरिदमा सहयोग गरेको थियो । स्थानीय उत्पादनलाई व्यावसायिक बनाउन सके किसानको आयआर्जन बढ्ने र स्थानीय बजारको माग पूरा गर्नसमेत सहयोग पुग्ने उनको भनाइ छ ।
‘स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता रहँदैन’, नगरप्रमुख थोप्राले भने, ‘फूलखेतीलाई थप क्षेत्रमा विस्तार गरी व्यावसायिक रूपमा अघि बढाउन नगरपालिकाले आवश्यक सहयोग गर्नेछ ।’ उनले उत्पादनसँगै बजारीकरण र भण्डारणमा ध्यान दिन सके फूलखेतीलाई दीर्घकालीन आम्दानीको आधार बनाउन सकिने बताए ।
नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले महिलाले फूलखेती गर्ने योजना ल्याएपछि समूह गठन गरेर व्यवस्थित रूपमा काम गर्न सुझाव दिएको बताइन् । महिलाको आर्थिक आत्मनिर्भरता बढाउन र सामूहिक प्रयासलाई निरन्तरता दिन आवश्यक सहजीकरण भइरहेको उनले जानकारी दिइन् ।
तिहारका बेला सयपत्री फूलको माग बढ्ने भएकाले शिवसताक्षीका महिलाका लागि यो खेती आम्दानीको अवसर बनेको छ । अब उनीहरूको सफलता उत्पादनमा मात्रै नभएर फूललाई समयमै बजारमा पुर्याएर लगानीअनुसारको प्रतिफल लिन सक्ने क्षमतामा पनि निर्भर हुनेछ ।



















