सेयर बिक्री नियमविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार १०:५३

काठमाडौं । आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुअघि पूर्वसूचना दिनुपर्ने धितोपत्र बोर्डको नियमविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले सोमबार विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । दुवै पक्षको बहसपछि अदालतले अन्तरिम आदेशबारे निर्णय गर्नेछ ।

अधिवक्ता दशरथ सिंह चाडले धितोपत्र बोर्ड र अर्थ मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । उनले बजारलाई संकुचित पार्ने नीति ल्याइएको भन्दै नियम खारेजीको माग गरेका छन् ।

व्यापक विरोधपछि धितोपत्र बोर्डले भने नियममा संशोधन गरिसकेको छ । सुरुमा पाँच प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न १५ दिनअघि सूचना दिनुपर्ने व्यवस्था रहेकामा अहिले आईपीओ निष्कासन गर्दाका आधारभूत सेयरधनीका हकमा मात्र यो नियम लागू हुने बनाइएको छ ।

संशोधित व्यवस्थाअनुसार १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्दा मात्रै सूचना दिनुपर्नेछ । सूचना दिनुपर्ने अवधि पनि १५ दिनबाट घटाएर पाँच कारोबार दिन कायम गरिएको छ । सूचनाको अवधिमा सबै सेयर बिक्री नगरी पुनः सेयर खरिद गरेमा खरिद गरिएको सेयरको संख्या र मूल्यसमेत जानकारी दिनुपर्ने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×