
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले निर्वाचन सम्पन्न भएको केही दिनमै सरकार परिवर्तन गर्ने वा ढाल्ने चर्चा चल्नु देशका लागि चिन्ताजनक भएको बताएका हुन् । प्रमुख राष्ट्रिय चाडपर्व सकिए लगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने र सरकार परिवर्तन गर्ने चर्चा सुरु हुनुलाई उनले दुःखद भनेका छन् ।
बहुदलीय लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा तथा सहकार्य हुनु स्वाभाविक रहेको उल्लेख गर्दै उनले सदन र सडकबाट आलोचना तथा प्रत्यालोचना हुनु पनि आवश्यक रहेको बताएका छन् । तर, निर्वाचनलगत्तै सरकार परिवर्तन गर्ने वा ढाल्ने प्रयासले देशलाई अनिश्चिततातर्फ धकेल्ने, अर्थतन्त्र कमजोर बनाउने र युवालाई विदेशिन बाध्य पार्ने उनको टिप्पणी छ ।
यस्तो प्रवृत्तिले देशलाई थप भूराजनीतिक जोखिममा समेत पार्न सक्ने उनले बताएका छन् । भट्टराईले देश र जनताप्रति जिम्मेवार सबै नागरिकलाई गम्भीर हुन आग्रह गर्दै सरकार तथा सत्ताका विभिन्न अंगमा रहेकाहरूलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिएका छन् ।
विशेषगरी विपत्तिमा परेका, ऐतिहासिक रूपमा वञ्चितीकरणमा परेका तथा गरिब र निमुखा जनताको आवाज सत्तामा रहेकाहरूले सुन्नुपर्ने उनको भनाइ छ। जनताको आवाज नसुन्ने सत्तासीनलाई विधिसम्मत ढंगले दण्डित गर्न वा पदबाट हटाउनुपर्ने उनले बताएका छन् । ‘निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिऊँ,’ भट्टराईले भनेका छन्, ‘काम नगरे वा बिगारे अर्को चुनावबाट बिदा गरौँ ।’

























