
एजेन्सी । भारतको पश्चिम-मध्य बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवात तीव्र बन्दै ‘अत्यन्त शक्तिशाली चक्रवाती आँधी’ मा परिणत भएको छ । यसको जोखिमलाई ध्यानमा राख्दै ५३ वटा रेल सेवा रद्द गरिएको छ ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार आँधी बुधबार आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्र पार गर्ने सम्भावना छ । तटीय क्षेत्रमा प्रवेश गर्दा हावाको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटर रहने र अधिकतम १४० किलोमिटरसम्म पुग्न सक्ने अनुमान छ ।
आँधीको प्रभावले आन्ध्र प्रदेश र यानममा मंगलबार र बुधबार, ओडिसामा बुधबार तथा छत्तीसगढमा बुधबार र बिहीबार भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी दिइएको छ । पूर्वी उत्तर प्रदेशमा पनि बिहीबार वर्षाको सम्भावना छ ।
चक्रवातको जोखिमलाई ध्यानमा राख्दै साउथ कोस्ट रेलवेले मंगलबार र बुधबारका लागि ५३ वटा रेल सेवा रद्द गरेको छ । रेल प्रशासनले यात्रुलाई स्टेसन जानुअघि रेल सेवा र यात्राको मिति यकिन गर्न आग्रह गरेको छ ।
अण्डमान र निकोबार प्रशासनले पनि सावधानीस्वरूप सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । बालबालिका तथा महिलाको पोषण प्रभावित नहोस् भनेर आँगनवाडीका कर्मचारीलाई सम्बन्धित क्षेत्रमा खटाइएको छ । संस्था बन्द रहे पनि लाभग्राहीका घरघरमा सुक्खा खाद्यान्न पुर्याउने व्यवस्था गरिएको छ ।
यसैबीच, ओडिसा सरकारले चक्रवातसम्बन्धी झूटा, भ्रामक वा अनुमानमा आधारित सूचना तथा चेतावनी सम्प्रेषण नगर्न सञ्चारमाध्यम र डिजिटल प्लेटफर्मलाई आग्रह गरेको छ ।

























