
ताप्लेजुङ । पर्यटकीय मौसम सुरु भएसँगै विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन बढेको छ। असोजको तेस्रो सातादेखि पदमार्ग र आधार शिविरमा पर्यटकको चहलपहल बाक्लिएको हो।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अनुसार मङ्गलबारसम्म उत्तरी आधार शिविर क्षेत्रमा ६२३ जना बाह्य पर्यटक पुगेका छन्। दक्षिणी आधार शिविरतर्फ ६९ जना विदेशी र ८३ जना स्वदेशी पर्यटकले भ्रमण गरेका छन्।
स्थानीय पर्यटन व्यवसायी तेन्जिङसेराप शेर्पाका अनुसार खम्बाचेन, लोनाक र पाङ्पेमा क्षेत्रमा पर्यटकको चाप बढेको छ। पर्यटकको संख्या बढेसँगै होटलमा बास बस्न केही असहज भए पनि विदेशी पर्यटकले टेन्ट र स्लिपिङ ब्यागलगायत सामग्री आफैँ बोक्ने भएकाले ठूलो समस्या नरहेको व्यवसायी बताउँछन्।
कञ्चनजङ्घा क्षेत्रमा असोज–कात्तिक र चैत–जेठ मुख्य पर्यटकीय सिजन हुन्। यसपटक मौसम सफा रहेकाले पर्यटकको आगमन उत्साहजनक रहेको स्थानीयको भनाइ छ।
यहाँ आउने विदेशी पर्यटकमा अमेरिका, रुस, बेलायत, जर्मनी र चीनका नागरिक छन्। सार्क राष्ट्रका पर्यटकसँगै आन्तरिक पर्यटक पनि कञ्चनजङ्घा क्षेत्र पुगिरहेका छन्।

























