ब्लड बैंकमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ११, बुधबार ०९:५३

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले ब्लड बैंकमा रगतको मौज्दात सकिएको जनाउँदै सर्वसाधारणलाई रक्तदान गर्न आग्रह गरेको छ । दसैँ बिदाका कारण रक्तदान कार्यक्रम घट्नु र अस्पतालमा बिरामीको चाप बढ्नुले रगतको अभाव भएको हो ।

रेडक्रसका महामन्त्री ऋषि खनालका अनुसार संस्थाले हाल ७३ जिल्लाका १२० स्थानबाट रक्तसञ्चार सेवा प्रदान गर्दै आएको छ ।

केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा सबै समूहको होल ब्लड, प्याक्ड रेड ब्लड सेल र प्लेटलेट्सको मौज्दात सकिएको छ । यसले बिरामीका लागि आवश्यक रगत व्यवस्थापन गर्न कठिनाइ भएको उनले बताए ।

रेडक्रसले १८ वर्ष पूरा भएका स्वस्थ युवायुवती र पछिल्लो पटक रक्तदान गरेको तीन महिना पुगेका स्वयंसेवी रक्तदातालाई रक्तदान गर्न आह्वान गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले चाडपर्वका कारण कार्यालय तथा शैक्षिक संस्था बन्द हुँदा रक्तदान कार्यक्रम घटेको बताए । उनले रगतको अभाव टार्न स्वयंसेवी रक्तदाता तथा विभिन्न सङ्घसंस्थालाई सहयोग गर्न अपिल गरेका छन् ।

रक्तदान गर्न इच्छुक वा रगत आवश्यक पर्ने व्यक्तिले केन्द्रीय रक्तसञ्चार सेवाको फोन नम्बर ०१५३८८४८५ र ०१५३८८४८६ वा रेडक्रसको निःशुल्क हटलाइन ११३० मा सम्पर्क गर्न सक्नेछन्। सेवासम्बन्धी जानकारीका लागि ‘एनआरसीएस बीटीएस’ एप डाउनलोड गर्न सकिने रेडक्रसले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×