
भोजपुर । वैदेशिक रोजगारी र बसाइँसराइका कारण गाउँमा युवा जनशक्ति घट्दै गएपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन मुस्किल हुन थालेको छ । खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा पाकेको धान समयमै भित्र्याउन समस्या भएको किसानले बताएका छन् ।
वर्षभरि मेहनत गरेर उत्पादन गरेको धान भित्र्याउने समयमा कामदार खोज्नुपर्ने बाध्यता किसानलाई छ । रोजगारी र अन्य अवसरको खोजीमा युवा गाउँबाट बाहिरिएपछि खेतीपातीको काम प्रभावित हुन थालेको हो । धान काट्ने, बिटा बाँध्ने, खेतबाट खलोमा पुर्याउने, झाँट्ने, बत्ताउने र घरसम्म ओसार्ने काममा जनशक्ति आवश्यक पर्ने भएकाले युवाको अभावले समस्या बढाएको किसान बताउँछन् ।
टेम्केमैयुङ गाउँपालिका–६ का किसान बलबहादुर राईले वैदेशिक रोजगारी र सहरकेन्द्रित बसाइँसराइका कारण गाउँमा युवा जनशक्ति घट्दै गएको बताए । पहिले गाउँघरमै पर्याप्त कामदार पाइने गरे पनि अहिले धान थन्क्याउने समयमा मानिस खोज्न मुस्किल हुने गरेको उनको भनाइ छ ।
‘गाउँमा खेती गर्ने युवा घट्दै गएका छन् । धान पाकेपछि काट्ने, बिटा बाँध्ने, बोकेर खलोमा पुर्याउने र झाँटेर घरसम्म भित्र्याउने काममा बलियो जनशक्ति चाहिन्छ । तर, अहिले गाउँमा युवा नहुँदा यी काम गर्न कठिन भएको छ,’ उनले भने ।हतुवागढी गाउँपालिका-२, लुङ्गिनका किसान जयबहादुर थापाले खेतीपातीको काम महिला र ज्येष्ठ नागरिककै भरमा गर्नुपर्ने अवस्था रहेको बताए । युवा गाउँमा नहुँदा परिवारका सदस्य मिलेर खेतीको काम धान्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
शारीरिक श्रम बढी लाग्ने भएकाले महिला र ज्येष्ठ नागरिकलाई धान काट्न र थन्क्याउन कठिन हुने गरेको किसान बताउँछन् । जनशक्ति अभावमा परिवारका सदस्यले बढी मेहनत गर्नुपर्ने र काम सम्पन्न गर्न पनि लामो समय लाग्ने गरेको छ ।
परम्परागत रूपमा गाउँघरमा एकअर्काको खेतीमा सघाउने चलन रहे पनि युवा जनशक्ति घट्दै जाँदा मेलापातबाट काम सम्पन्न गर्न कठिन हुन थालेको छ । पहिले छिमेकी र आफन्त मिलेर पालैपालो धान काट्ने र थन्क्याउने गरिए पनि अहिले काम गर्ने मानिसको अभावले किसान थप समस्यामा परेका छन् । स्थानीय सरकारले युवालाई गाउँमै टिकाइराख्न पहल गर्नुका साथै आधुनिक कृषि प्रणाली अपनाउन किसानलाई प्रोत्साहित गर्नुपर्ने स्थानीय किसानको माग छ ।

























