मोरङ, झापा र उदयपुरमा दुर्घटना : तीन जनाको मृत्यु

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १२, बिहीबार ०७:३९
फाइल फाेटाे

विराटनगर । कोशी प्रदेशका मोरङ, झापा र उदयपुरका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटना, बस तथा बोलेरोको ठक्करबाट तीन जनाको मृत्यु भएको हो ।

मोरङको विराटनगर महानगरपालिका–१० स्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालक २४ वर्षीय अंकित पोखरेलको मृत्यु भएको छ । बिहीबार बिहानका राति निर्मल जलबाट जतुवातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३३७७ नम्बरको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टाउको र नाकमा चोट लागेका पोखरेललाई उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो । अस्पतालका चिकित्सकले राति १ः१० बजेतिर उनलाई मृत घोषणा गरेका थिए। मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ । दुर्घटनाको कारण तीव्र गति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यसैगरी, झापाको दमक नगरपालिका–५ स्थित बजाज सोरुमअगाडि पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोरङको लेटाङबाट दमकतर्फ जाँदै गरेको प्रदेश १–०२–०५३ प ७४३९ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२९२ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो ।

दुर्घटनामा पाँचथरको मेमेङ घर भई हाल मोरङको लेटाङ नगरपालिका–८ बस्ने अन्दाजी ५३–५४ वर्षीय मंगलप्रसाद साउदेन घाइते भएका थिए । उनको छातीमा चोट लागेको थियो । उनलाई सुरुमा निम्स अस्पताल दमकमा सामान्य उपचार गरिएको थियो ।

थप उपचारका लागि बुधबार साँझ ५१० बजेतिर विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएका साउदेनलाई आफन्तले विराट टिचिङ अस्पताल लगेका थिए । त्यहाँ उपचारका क्रममा ६५५ बजेतिर चिकित्सकले मृत घोषणा गरेको जानकारी अस्पतालले राति १० बजेतिर इलाका प्रहरी कार्यालय दमकलाई गराएको थियो ।

मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ भने बसमा यात्रु रहेकाले गन्तव्यतर्फ पठाइएको थियो । दुर्घटनाको कारण तीव्र गति रहेको जनाइएको छ ।

त्यस्तै, उदयपुरको बेलका नगरपालिका–९ झण्डा चोकस्थित मदन भण्डारी लोकमार्गमा बोलेरोको ठक्करबाट घाइते भएकी ५६ वर्षीया लक्ष्मीमाया राईको पनि मृत्यु भएको छ । रामपुरबाट चतरातर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ज ००२२ नम्बरको बोलेरोले उनलाई बुधबार बिहान ५ः३० बजेतिर ठक्कर दिएको थियो ।

बेलका–९ रामपुरकी राईलाई ठक्कर दिएर चालक फरार भएका थिए । तत्काल रामपुरस्थित नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि छोरी वर्षा राईले उनलाई मोरङको विराट टिचिङ अस्पताल लगेकी थिइन् । गम्भीर अवस्थामा रहेकी राईको उपचारका क्रममा बिहान ८ः०९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बोलेरो चालक फरार भएका थिए । खोजी गर्ने क्रममा प्रहरीले बोलेरो बेलका नगरपालिका–८ लेम्लेमा लुकाएर राखिएको अवस्थामा फेला पारेको थियो । चालक भोजपुरको आमचोक गाउँपालिका–१ वासिङका ३७ वर्षीय प्रेम विश्वकर्मा इलाका प्रहरी कार्यालय इटहरीको सम्पर्कमा पुगेका थिए ।

प्रहरी टोलीले उनलाई इटहरीबाट पक्राउ गरी साँझ १९ः०५ बजे इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला पुर्‍याएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तीनवटै दुर्घटना सवारीसाधनको तीव्र गतिका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×