
काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली ‘अर्णब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा देखिन थालेसँगै भारी वर्षा, हिमपात र हिमआँधीको जोखिम बढेको छ ।
जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा अत्यधिक हिमपातको सम्भावना औंल्याउँदै ‘रेड अलर्ट’ जारी गरेको छ । मौसमविद्हरूले यसलाई सामान्य मौसमी परिवर्तनका रूपमा नलिन र सम्भावित जोखिमबाट जोगिन पूर्वसतर्कता अपनाउन आग्रह गरेका छन् । उनीहरुले ‘रेड अलर्ट’लाई सामान्य नठान्न चेतावनी दिएका छन् ।
भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम र यानमको तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवातका कारण विभिन्न स्थानमा भारी वर्षा र आँधीबेहरी भइरहेको छ । यससँगै बंगालको खाडीको पूर्वी भागमा अर्को शक्तिशाली न्यूनचापीय क्षेत्रसमेत विकसित भएकाले नेपालमा वर्षा र हिमपातको असर बढ्न सक्ने मौसमविद्हरूको आकलन छ ।
जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जनका अनुसार बुधबार बिहानदेखि नै नेपालमा चक्रवातको प्रभाव देखिन थालेको छ । मौसम बदली हुनुका साथै लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षासमेत भएको छ । उनका अनुसार कात्तिक १३ र १४ गतेसम्म चक्रवातको प्रभाव तीव्र हुन सक्नेछ । ‘उच्च हिमाली भेगमा हिमआँधीसहितको उच्च हिमपात हुने भएकाले प्रतिकार्यमा उत्रिनुपर्ने हुन सक्छ,’ महर्जनले भनिन् ।
विभागका अनुसार बिहीबारदेखि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा उच्च भू–भागमा हिमपातको सम्भावना छ ।
यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा उच्च भू–भागमा भारी हिमपात हुन सक्ने विभागको आकलन छ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षा वा हिमपात हुन सक्नेछ ।
मौसमविद् निष्ठा निरौलाले पहाडी तथा तराईका क्षेत्रमा मध्यमदेखि भारी वर्षासम्मको सम्भावना रहेको बताइन् । ‘भारतको बिहारनजिक रहेका स्थानमा हावाहुरीसहितको वर्षाको सम्भावना रहेको छ,’ उनले भनिन् ।
मौसमविद्हरूका अनुसार चक्रवातको प्रभाव नेपालमा कति गम्भीर हुन्छ भन्ने कुरा मौसमी प्रणालीको गति, दिशा र फैलावटमा निर्भर रहनेछ । चक्रवात बिहार आसपास आइपुग्दा कमजोर भए पनि त्यसबाट विकसित हुने मौसमी प्रणाली नेपालका विभिन्न क्षेत्रमा फैलिन वा कुनै क्षेत्रमा केन्द्रित हुन सक्छ । त्यसैले वर्षा र हिमपातको वास्तविक परिमाण आकलन गर्न थप अनुगमन आवश्यक रहेको विज्ञहरूको भनाइ छ ।
जलविज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. राजन भट्टराईले यसपटक वर्षा र बाढीभन्दा हिमआँधीको प्रभाव बढी गम्भीर हुन सक्ने देखिएकाले हिमाली क्षेत्रको अनुगमनमा ध्यान केन्द्रित गरिएको बताए । ‘वर्षा र बाढीभन्दा हिमआँधी कडा हुने देखिएकाले हिमाली क्षेत्रको अनुगमनमा केन्द्रित भएका छौँ । वर्षा जस्तै हिउँ कति पर्छ भनेर तत्काल भन्न नसकिने भएकाले केही समस्या छ,’ उनले भने ।
उनका अनुसार चक्रवातको प्रभाव र त्यससँगै सक्रिय हुने मौसमी प्रणालीको अवस्थाका आधारमा नेपालमा वर्षा तथा हिमपातको परिमाण अनुमान गर्न सकिनेछ । बिहीबार रातिदेखि दुवै प्रणालीको प्रभाव देखिन सक्ने उनको आकलन छ ।
भारी हिमपातसँगै पहाडी जिल्लामा हुने वर्षाले पहिरोको जोखिमसमेत बढाउन सक्ने भट्टराईले बताए । ‘सम्भावित असर पर्ने केही पहाडी भेगमा एक सय मिलिमिटरभन्दा बढी वर्षा हुँदा पनि पहिरो जान सक्ने देखिएको छ । त्यसैले पूर्वानुमानका आधारमा सतर्कता सूचना जारी गर्दै छौँ,’ उनले भने ।
बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार भारी वर्षाका कारण खहरे तथा स्थानीय खोलामा आउन सक्ने आकस्मिक बाढीको अनुगमनसमेत सुरु गरिएको छ । छोटो समयमा हुने तीव्र वर्षाले स्थानीय खोलामा पानीको बहाव अचानक बढाउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दा सतर्क रहनुपर्ने अवस्था छ ।
यसैबीच, सम्भावित जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२ गते बिहीबारदेखि १४ गतेसम्म अत्यावश्यकबाहेक यात्रा नगर्न र नगराउन आग्रह गरेको छ । भारी वर्षा, चट्याङ र हावाहुरीका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र ती क्षेत्रमा पुगिसकेकालाई जोखिमको अवधिभर सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । जोखिमयुक्त तथा निषेधित क्षेत्रमा पदयात्राको अनुमति दिने कार्यसमेत स्थगित गरिएको छ । ट्रेकिङ एजेन्सी, पदयात्री र पथप्रदर्शकलाई सम्बन्धित निकायका निर्देशन पालना गर्न भनिएको छ । आवश्यक परे सवारी आवागमन बन्द गर्न र त्यसअघि सर्वसाधारणलाई अग्रिम जानकारी गराउनसमेत सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
मौसमको प्रतिकूलताले जनजीवनसँगै कृषि क्षेत्रमा पनि असर पार्न सक्ने देखिएको छ । वर्षा र हावाहुरीका कारण धान काट्ने तथा भित्र्याउने काम प्रभावित हुन सक्ने भएकाले किसानसमेत सचेत रहनुपर्नेछ ।
हिमाली क्षेत्रमा सम्भावित हिमपातको अवस्था बुझ्न जलविज्ञान अनुसन्धान केन्द्रले तीन हजार मिटरभन्दा माथि रहेका करिब २३ वटा स्वचालित हिममापन केन्द्रको अद्यावधिक अवस्थाबारे जानकारी लिएको छ । केन्द्रले हिमआँधी र हिमपातको सम्भावित प्रभावलाई ध्यानमा राखेर अनुगमन तीव्र बनाएको जनाएको छ ।
केन्द्रका अनुसार दसैँअघि सक्रिय शक्तिशाली न्यूनचापीय प्रणालीका बेला सगरमाथालगायत उच्च हिमाली क्षेत्रमा आठ फिटभन्दा बढी हिउँ परेको थियो । यसपटक पनि त्यसभन्दा बढी हिमपात हुन सक्ने सम्भावना रहेकाले उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने आकलन गरिएको छ ।
भारतको मौसम विज्ञान विभागले चक्रवाती आँधीको गति प्रतिघण्टा १५० देखि १७० किलोमिटरसम्म पुग्ने अनुमान गरेको छ । विभिन्न मौसमी मोडेलले नेपालमा वर्षा र हिमपातको परिमाण उच्च हुन सक्ने देखाएको त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मौसम विभागका मौसमविद् विनोद पोखरेलले बताए ।
मौसमविद्हरूले चक्रवातको प्रभाव कति समयसम्म रहने र कुन क्षेत्रमा कति वर्षा वा हिमपात हुने भन्ने विषयमा थप अद्यावधिक पूर्वानुमान हेर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार हिमाली क्षेत्रमा जाने पर्यटक, पदयात्री, स्थानीय बासिन्दा र यात्रुका लागि मौसमसम्बन्धी चेतावनीलाई बेवास्ता गर्नु जोखिमपूर्ण हुन सक्छ ।
‘रेड अलर्ट’ जारी हुनुको अर्थ सबै क्षेत्रमा समान रूपमा विपद् आउँछ भन्ने होइन । तर, सम्भावित जोखिम उच्च रहेकाले पूर्वतयारी, समयमै सूचना प्रवाह र सम्बन्धित निकायको निर्देशन पालना गर्नु आवश्यक रहेको विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार विशेषगरी उच्च हिमाली क्षेत्रमा यात्रा गर्ने योजना बनाएकाहरूले मौसमको पछिल्लो अवस्था बुझेर मात्रै निर्णय लिनुपर्ने देखिन्छ ।

























