‘अर्नब’को असर नेपालमा : मौसम प्रतिकूल, आइतबारबाट मात्रै सुधार हुने

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार ०६:१५

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भइसके पनि त्यसको असर नेपालमा देखिने क्रम जारी छ । यसको प्रभावले शुक्रबार र शनिबार देशका विभिन्न क्षेत्रमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना छ । मौसममा भने आइतबारदेखि क्रमिक सुधार आउने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार (आज) कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्छ । कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका अधिकांश तथा अन्य भू–भागका धेरै स्थानमा पनि वर्षा र हिमपातको सम्भावना छ ।

विशेषगरी कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपातसँगै हिमआँधी र हिमपहिरोको जोखिमसमेत औँल्याइएको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार शुक्रबार अपराह्नदेखि रातिसम्म कोशी र बागमतीका धेरै स्थानमा भारी वर्षा हुन सक्छ । शनिबारदेखि प्रणालीको प्रभाव कमजोर हुँदै जाने र आइतबारदेखि मौसममा सुधार देखिने सम्भावना रहेको उनले बताए ।

शनिबार पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना छ । यी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा र हिमपात हुन सक्छ । शनिबार रातिदेखि भने वर्षा हुने क्षेत्र क्रमशः घट्दै जानेछ ।

आइतबार र सोमबार देशभर आंशिक बदली रहने तथा हिमाली र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ । तराई, उपत्यका र खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

बुधबार बिहान भारतको आन्ध्रप्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको चक्रवात उत्तर–उत्तरपश्चिमतर्फ अघि बढ्ने क्रममा कमजोर भएर गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको थियो । यही प्रणालीको प्रभावले बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा बदली र वर्षाको अवस्था सिर्जना भएको हो ।

चक्रवात कमजोर भए पनि त्यसको प्रभाव तत्काल समाप्त नहुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विभागका प्रवक्ता विभूति पोखरेलले वर्षा, हिमपात र हावाहुरीको जोखिम कायमै रहेकाले आवश्यक सावधानी अपनाउनुपर्ने बताइन् ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ । विपद् प्रतिकार्य कमाण्ड पोष्टको बिहीबार बसेको बैठकले जोखिमयुक्त जिल्लाको अवस्थाका बारेमा निरन्तर जानकारी लिन, नागरिकलाई सचेत गराउन र आवश्यक परे तत्काल उद्धार तथा प्रतिकार्यमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्वतारोहण र पदयात्रा नगर्न आग्रह गरेको छ । यात्रामा निस्किसकेकालाई सुरक्षित स्थानमा बस्न र जोखिमपूर्ण यात्रा नगर्न सुझाव दिइएको छ । किसानलाई समेत कात्तिक १४ गतेसम्म धान नकाट्न भनिएको छ ।

वर्षाका कारण पहिरो जाने, सडक अवरुद्ध हुने तथा हवाई यातायात प्रभावित हुन सक्ने जोखिम छ । त्यसैले यात्राअघि सडकको अवस्था बुझ्न र सम्बन्धित जिल्ला प्रहरी तथा प्रशासनसँग समन्वय गरेर मात्रै सवारी सञ्चालन गर्न यातायात व्यवसायीलाई आग्रह गरिएको छ ।

मौसम प्रतिकूल रहने अवधिमा नदी तथा खोलानाला आसपासका बासिन्दा, पहिरोको जोखिममा रहेका बस्ती र हिमाली क्षेत्रमा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.