
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउने तयारी गरेको छ । आवश्यक कागजात तयार पार्ने काम भइरहेको र सम्भव भएसम्म शुक्रबार नै आयोग पुगेर निवेदन दिने तयारी रहेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथपछि बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले नयाँ कार्यसमितिको विवरण अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिवलाई दिएको थियो। सोही निर्णयअनुसार आयोग जाने तयारी भइरहेको पौडेलले बताए ।
१५औँ महाधिवेशनबाट कांग्रेसमा २० पदाधिकारीसहित २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले बिहीबारदेखि जिम्मेवारी सम्हालेका छन् । राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न भएपछि दलले नयाँ निर्वाचित कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने हुन्छ ।

























