फक्ताङलुङमा विपद्को जोखिम बढेपछि सतर्क रहन पालिकाको आग्रह

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार ११:३०

विराटनगर । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले निरन्तरको वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन थालेपछि सम्भावित विपद्को जोखिमबाट सुरक्षित रहन स्थानीयवासी तथा पर्यटकलाई आग्रह गरेको छ।

स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले शुक्रबार बिहान सार्वजनिक अपिल जारी गर्दै हिमाली भूगोल, प्रशस्त नदी तथा खोला र जोखिमयुक्त पदमार्गका कारण विपद्को सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेका हुन्। उनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन स्थानीयवासीलाई अनुरोध गरेका छन्।

अध्यक्ष लिम्बूले नदी तथा खोला किनार, पहिरोको जोखिम भएका क्षेत्र र कमजोर भू–भागमा अनावश्यक आवतजावत नगर्न, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा पशुपन्छीको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्। त्यसैगरी सडक तथा पदमार्गमा पानीको उचित निकासको व्यवस्था मिलाउन पनि उनले अनुरोध गरेका छन्।

कञ्चनजंघा आधार शिविर, दक्षिणी आधार शिविर, घुन्सा, ओलाङ्चुङगोला र टिपताला लगायत उच्च हिमाली क्षेत्रमा भ्रमणमा रहेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म जोखिमपूर्ण यात्रा नगर्न गाउँपालिकाले अपिल गरेको छ। होटल, होमस्टे तथा लज सञ्चालकलाई पर्यटकको अवस्था बुझेर आवश्यक खाद्यान्न, न्यानो कपडा, सञ्चार र प्राथमिक उपचारको व्यवस्था सुनिश्चित गर्न पनि आग्रह गरिएको छ।

स्थानीय पथप्रदर्शक तथा सम्बन्धित निकायको आधिकारिक सल्लाहबिना जोखिमपूर्ण पदयात्रा नगर्न र कुनै जोखिम देखिए तत्काल सम्बन्धित वडा कार्यालय, गाउँपालिका वा सुरक्षा निकायलाई जानकारी गराउनसमेत पालिकाले अनुरोध गरेको छ।

यसैबीच, ताप्लेजुङमा बिहीबार बिहानदेखि सुरु भएको वर्षा शुक्रबार बिहानसम्म पनि निरन्तर भइरहेको छ। वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपात हुन थालेपछि पर्यटकीय गतिविधिमा समेत प्रभाव परेको छ।

ओलाङ्चुङगोलामा रहेका पर्यटन अभियन्ता हेमराज निरौलाका अनुसार निरन्तरको वर्षा र डाँडाकाँडामा भइरहेको हिमपातका कारण नाङ्गोलापास हुँदै लुम्बासुम्बा हिमाल पार गरेर मकालुतर्फ जाने स्वदेशी तथा विदेशी पर्यटक जोखिमको आकलन गर्दै ओलाङ्चुङगोलामै रोकिएका छन्। त्यस्तै सिङ्जेमा ताल र स्याम्दो पोखरी भ्रमणमा निस्किएका नागरिकसमेत थप जोखिमको आशंकामा ओलाङ्चुङगोलामै रहेको उनले जानकारी दिएका छन्।

निरन्तरको वर्षा र उच्च क्षेत्रमा भइरहेको हिमपातका कारण ताप्लेजुङ सदरमुकाम फुङलिङसहित जिल्लाका उच्च हिमाली क्षेत्रमा चिसोसमेत ह्वात्तै बढेको छ। मौसम प्रतिकूल भइरहेकाले हिमाली क्षेत्रको यात्रा तथा पदयात्रामा निस्किएका पर्यटकलाई थप सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.