प्रतीकात्मक तस्बिरविराटनगर । विराटनगर महानगरपालिका–११ स्थित एउटा छापाखानामा आगलागी भएको छ । बिहीबार साँझ करिब ६ः२५ बजेतिर छापाखानामा आगलागी सुरु भएको थियो ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार राधारत्न ओखलढुंगा छापाखानामा आगलागी भएको हो । घटनाको जानकारी पाउनसाथ वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी लोकेन्द्र सिंह गुरुको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
स्थानीय र विराटनगर महानगरपालिकाका दुईवटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको डीएसपी मिश्रले बताए । उनका अनुसार राति ८ः३० बजेतिर आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।
उक्त छापाखाना मेनुका वाग्ले र सन्तोष पौडेलले सञ्चालन गरेको कञ्चन बहुउद्देश्यीय कम्पनी प्रालिको रहेको खुलेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
घटनाबाट भएको भौतिक क्षतिको विवरणसमेत संकलन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । ‘क्षतिको पूर्ण विवरण आउन बाँकी छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ,’ डीएसपी मिश्रले भने ।



















